काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको जन्म विसं २००६ मा झापामा भएको हो ।
राजनीतिक जीवनको प्रारम्भमा कम्युनिस्ट आन्दोलनमा सक्रिय रहनुभएका सिटौला २०३६ सालको जनमत सङ्ग्रहपछि काँग्रेस राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँ झापा जिल्ला सभापति हुँदै नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा आउनुभएको हो ।
विसं २०५० मा भएको उपनिर्वाचनमा झापाबाट सांसद निर्वाचित हुनुभएका सिटौला २०५६ सालको संसदीय निर्वाचनमा पनि विजयी हुनुभएको थियो । विसं २०५७ सालमा पोखरामा भएको १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका नेता सिटौलाले त्यसबेला पार्टी प्रवक्ताको भूमिकासमेत निर्वाह गर्नुभएको थियो । उहाँले उद्योग राज्यमन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्रीको कार्यभारसमेत सम्हालिसक्नु भएको छ ।
विसं २०५९ असोज १९ गतेको प्रतिगमनपछि भूमिगत नेकपा (माओवादी)सँग वार्ता गर्न तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रका रुपमा नेता सिटौला खटिनुभएको थियो । माओवादीसँगको शान्तिवार्तालाई निष्कर्षमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता सिटौला गृहमन्त्री भएकै बेला सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पराजित हुनु भएको थियो ।
काँग्रेसको १२औँ महाधिवेशनपछि सभापति सुशील कोइरालाको मनोनीत महामन्त्री बन्न सफल उहाँ दोस्रो संविधानसभा निर्वाचनमा झापाबाट विजयी हुनुभएको थियो । दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापति भएर सिटौलाले संविधानको मस्यौदा निर्माणमा पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न पार्टी महामन्त्री, प्रधानमन्त्री सुशील कोइरालाको विश्वास पात्र सहयोगी र मस्यौदा समितिको सभापतिका रुपमा उहाँको भूमिका महत्वपूर्ण छ ।
काँग्रेसभित्र पारिवारिक विरासतको बहस भइरहेका बेला नेता सिटौलाले पूर्वप्रधानमन्त्री एवम् सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको वैचारिक विरासत आफैँ भएको दाबी गर्दै सभापतिमा विजयी हुने बताउँदै आउनु भएको छ ।