समाजवाद र महाधिवेशन

समाजवाद र महाधिवेशन

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

बीपीको प्रजातान्त्रिक समाजवादको राजनीतिक कडी त्रिपक्ष राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीन सिद्धान्त थिए । बीपी कम्युनिस्ट र कांग्रेस दुवैको नेतृत्व क्षमता राख्ने एउटा दूरदर्शी बहुप्रतिभाशाली नेता थिए ।
अझै कम्युनिस्ट पार्टीको नेतृत्व गरेको भए नेपालको लेनिन नै ठहरिन्थे होलान् । बीपीको प्रजातान्त्रिक समाजवाद एक खालको कम्युनिस्ट र कांग्रेसको फ्युजन सिद्धान्त मान्न नमिल्ने होइन । यसलाई मध्यमार्गीका रूपमा लिन सकिन्छ । एक्काईसौँ शताब्दीको बहुमूल्य, बहुमान्यता बहुसत्य आदि ढंगले बहुलवादी समाजको चरित्रको फाँटमा उभिएर केलाउने हो भने उनी दूरदर्शी नेता नै स्वीकार्य छन् ।
उनले लिएको प्रजातान्त्रिक समाजवादको नीति तथा सिद्धान्त अहिलेको जटिल संरचना र प्रवृत्तिगत समाज जो व्यक्तिवादतर्फ उन्मुख छ, जसलाई पकड्न र समेट्न सुहाउँदो रहेछ ।
उनको प्रजातान्त्रिक समाजवाद अमेरिकन दार्शनिक थोमस जेफर्सन र तत्कालीन राष्ट्रपति अब्राहम् लिंकनको सिद्धान्तकै कपिराइट जस्तै हुन् । थोमस जेफर्सनको दार्शनिक अवधारणा जीवन, स्वतन्त्रता र स्वतन्त्र खुसीको खोजी (लाइफ, लिबर्टी र फर्सुट अफ ह्याप्पिनेस) तीन तात्विक कडी र लिंकनको ‘जनताका लागि, जनताद्वारा, जनताको सरकार’ भन्ने मूल्य मान्यताको अवलम्बन हुन् ।
जेफर्सले भनेजस्तै ‘मानव जन्मदैदेखि स्वतन्त्र छन्, सर्वको हक अधिकार बराबर छन्, यस धरतीमा जन्म लिने सबै समान छन्’ को अवधारणा बीपीको पनि देखिन्छ । जनतालाई केन्द्रविन्दुमा राख्ने उनले सरकार जनताकै सेवक हुनुपर्ने मान्यताबाट विचलित भएनन् ।
उनको समाजवाद मुख्य लक्ष्य नै समानता थियो । त्यो समानता राजनीतिक र आर्थिक समानता हुन् । राजनीतिक रूपमा बहुविचार र बहुसिद्धान्तका आधारमा सबैको समान अधिकार जसलाई प्रजातन्त्रसँग जोडेका छन् । कुनै पनि तानाशाह, एकाधिकारवाद, एकल सिद्धान्त, हैकमवाद र अधिनायकवादविरुद्ध उभिएको विचार हो ।
बहुजाति, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक र बहुक्षेत्रीय मूल्य, मान्यताको अवधारणा स्थापना भएको परिपाटीले आज सान्दर्भिक सावित हुने मौका पाएको छ । व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी र संगठनमा आबद्ध हुने अधिकार आदि प्रजातन्त्रको अभिन्न अंग ठान्ने बीपीले जनताको स्वतन्त्र मतद्वारा असल व्यक्ति वा नेतृत्व छनोट गरिने र मनका लागेका तर्क, वितर्क तथा असन्तुष्टिलाई निर्धक्क राख्न पाउने वाक् स्वतन्त्रलाई जोड दिए ।
यसमा सानो–ठूलो, धनी–गरिब, महिला–पुरुष, तागाधारी–मतवाली आदि केहीको अभाव, प्रभाव र छनक राख्न नहुने मान्यता उनको थियो । विचारको ‘बदर होइन कदर’ हुन सक्ने फाइदा यसबाट प्राप्त हुन सक्थ्यो । पार्टी वा संगठनको स्वतन्त्रताले वाद, प्रतिवाद र संवादको दार्शनिक माध्यम (माक्र्सवादी भाषामा द्वन्द्ववाद) मार्फत नयाँ वैचारिक जन्मले प्राथमिकता पाउन सक्ने अवस्था रहन्थ्यो ।
कांग्रेस पवित्र र प्रगति उन्मुख बन्ने हो भने तेह्रौँ महाधिवेशन परम्परागत बन्न पटक्कै हुदैन । विगतबाट पाठ सिक्न अनिवार्य छ । नेता, गुट र व्यक्ति चुन्ने र विजय हुने महाधिवेशन होइन, लोकतन्त्र सबल र सार्थक बनाउने नीति तथा कार्ययोजना पक्का गर्ने महाधिवेशन बन्न जरुरी छ ।
आर्थिक समानताका लागि उत्पादन प्रणालीमा सुधार ल्याएर उत्पादन वृद्धिमा जोड दिएका थिए, जहाँ समान वितरण गर्न सकियोस्, जो अहिलेको मिश्रित अर्थतान्त्रिक नीतिको रिहर्सल जस्तै थियो । सबैको चार कोठाको घर, एक हल गोरु, र एउटा दुहुनो गाई व्यवस्था बीपीको समाजवादको न्यूनतम परिपूर्तिको अवधारणा थियो । आर्थिक हिसाबले कोही भोको–नांगो, रोगी, अशिक्षित, हिंसापीडित हुन नपाउने ढंगको योजना थियो ।
कांग्रेसको २०१२ छैटौँ वीरगन्ज महाधिवेशनले ‘प्रजातान्त्रिक समाजवाद’ को घोषणा त गर्‌यो, तर ऐतिहासिक प्रोफाइलको रूपमा मात्र दराजमै थन्कियो । त्यसको छेउ पनि आजसम्म कांग्रेसले लागू गरेन ।
तसर्थ घोषणा र व्यवहार अत्यन्त पृथक् चीज हो भन्ने सावित भयो । प्रजातान्त्रिक समाजवादको आदर्श मूल्य, मान्यतालाई मात्र अनुसरण गरी व्यवहारमा सही रूपमा कांग्रेस अगाडि बढ्न सकेको भए आजसम्म कांग्रेसले ०१५ सालको चुनावमा र ०४८ को चुनावमा दुईतिहाइ बहुमत प्राप्तिको मत अझ बढेर निर्विकल्प पार्टी बन्न सक्ने सम्भावना रहेछ । यसको ठीक विपरीत नतिजाको सिकार बन्न परेको कारक आफैँ हो ।
संकटको बेलामा मात्र बीपी र समाजवादलाई सम्झन्छ कांग्रेस । अन्यथा सत्ता सुखमा अन्तरकलहमा पार्टी कमजोर बनाउँछ । कांग्रेस वर्तमानमा मात्र रमायो । बीपीको लाइनलाई बेवास्ता गर्‌यो । जसरी गाविस÷नगरपालिका वा कुनै प्रशासनिक निकायले लुलो, लँगडो र अंगभंगलाई मागी खान प्रमाणित सर्टिफिकेट दिएपछि त्यही आधारमा उसले मागी खान्छ, ठीक त्यसैगरी बीपीको आदर्शलाई मागी खाने प्रमाणित सर्टिफिकेट बनायो र समिति टाठाबाठाले त्यही नाममा मोज गर्‌यो ।
बीपीको लगानीको ब्याज मालिक बनेर खायो, कामदान बन्ने कोसिस गरेन प्रजातन्त्रलाई बुर्जुवा प्रजातन्त्रमा परिणत गर्‌यो । केही हुनेखाने वर्गको मात्र प्रजातन्त्र बिर्ता बनायो । बोल्नेको पिठो बिकाउँदै नबोल्नेको चामल पनि नबिकाएर वाक् स्वतन्त्रताकै खिल्ली उडायो ।
सत्तामा पुग्दा प्रजातन्त्र तिरमिरायो । विपक्ष विचार र राजासँगै समेत मेलमिलापको सफल नीति अवलम्बन गर्ने बीपीको पार्टीभित्रका हालका नेता पद, पैसा र शक्ति लुछाचुँडीमा आफैँभित्र सधैँ झगडा र फुट भित्र्यायो ।
राष्ट्रियतालाई प्रजातन्त्रको बलियो खम्बा मान्ने बीपीको पार्टीका भावी नेता सत्ताका लागि भारतीय शक्तिसँग राष्ट्रियता बन्दक राखेर बीपीको त्यागलाई अपमान गरेका परिणाम पार्टी जहाँ पुग्नुपर्ने हो, सकेको छैन । बीपीको बहुस्वीकृत र स्वागतयोग्य विचार नीति र सिद्धान्तलाई बाहिरी खतराबाट जोगाउनभन्दा आन्तरिक खतराबाट जोगाउनुपर्ने भइरहेको छ ।
कांग्रेस पवित्र र प्रगति उन्मुख बन्ने हो भने तेह्रौँ महाधिवेशन परम्परागत बन्न पटक्कै हुँदैन । विगतबाट पाठ सिक्न अनिवार्य छ । नेता, गुट र व्यक्ति चुन्ने र विजय हुने महाधिवेशन होइन, लोकतन्त्र सबल र सार्थक बनाउने नीति तथा कार्ययोजना पक्का गर्ने महाधिवेशन बन्न जरुरी छ ।
भर्खरै देहवसान भएका नेता सुशील कोइरालाको सरल, कर्तव्यनिष्ठ, त्यागी र सादगी तथा इमानदारीको मर्म र भावना यो महाधिवेशनले अवलम्बन गर्नुपर्छ । छैटौँ महाधिवेशनको नीति पुनर्जीवित हुने गरी बीपीको समाजवाद नीतिलाई पछ्याउने मात्र होइन, कार्यान्वयनमा जानुका साथै ०३३ को मेलमिलापको नीतिले पार्टीलाई बाँध्नु सार्थक महाधिवेशनको अनिवार्य सर्त हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी