काठमाडौ १९ फागुन ।
नेपाली कांग्रेस संस्थापन पक्षले आज उमेदवारी घोषणा गर्ने तयारी गरेको छ । पार्टीको आगामी नेतृत्वका लागि संस्थापन पक्षबाटै दुई जनाको उमेदवारी आउने निश्चित भएको छ ।
संस्थापन पक्षबाट एउटै मात्रै उमेदवार बनाउने प्रयास असफल भएपछि कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला प्यानल बनाएर चुनवी मैदानमा उत्रिन लाग्नु भएको हो । दुवैले आज छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गर्दैछन् ।
महामन्त्री सिटौलाले अपरान्न तीन बजे गौशाला स्थित अनुपम पार्टी प्यालेसमा उमेदवारी घोषणा गर्दै हुनु हुन्छ भने कार्यबाहक सभापति पौडेलले अपरान्न ४ बजे पार्टी कार्यलय सानेपामा उमेदवारी घोषणा गर्ने तयारी छ ।
पौडेल नेतृत्वको प्यानलको महामन्त्रीमा वीपी पुत्र सशांक कोइरालाले उम्मेदवारी दिने तय भएको छ । सिटौला नेतृत्वको प्यानलबाट महामन्त्रीमा युवा नेता गगन थापाले उम्मेदवारी दिने भएको छ ।
वरिष्ठ नेता शेर बहादुर देउवा पक्षले भने भोली मात्र उमेदवारी घोषणा गर्ने तयारी गरेको छ । संस्थापनको उमेदवारी घोषणा पर्खिएर बसेको देउवा पक्षले भोली बिहान पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गर्ने तयारी छ ।