काठमाडौँ, १२ फागुन ।
नेपाली काँग्रेसको १३ औँ महाधिवेशन नजिकिँदै जाँदा उमेद्वारी घोषणा गर्नेको सङ्ख्या बढेको छ ।
काँग्रेसको भ्रातृ संस्थाहरुको समयमा अधिवेशन हुन नसक्दा अहिले अधिकांश युवा नेताहरु पार्टीको केन्द्रीय सदस्य र पदाधिकारीका लागि विभिन्न पदमा उमेद्वारी दिने क्रम बढेको हो ।
नेपाली काँग्रेस लमजुङका नेता विष्णुप्रसाद धितालले आज पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ । उहाँले पछिल्लो समय पार्टीमा युवाको उल्लेख्य सहभागिता रहेको र युवाले देशलाई बदल्न सक्ने भन्दै आफूले सो पदमा उमेद्वार दिन लागेको बताउनुभयो ।
यसअघि नेपाली काँग्रेस ललितपुरका नेता रामकृष्ण चित्रकार, तनहुँका नेता गोविन्द भट्टराई, डडेलधुराका नेता केशव सिंह, सप्तरीका नेता रञ्जित कर्ण, ओखलढुङ्गाका नेता रामहरि खतिवडालगायतले उमेद्वारी घोषणा गरिसक्नुभएको छ ।
नेपाली काँग्रेसका पूर्व जिल्ला सभापतिले संस्थापन पक्षबाट सभापतिमा सर्वसम्मत उम्मेदवार बनाउन आग्रह गरेका छन् ।
यसैबीच बीसभन्दा बढी पूर्व सभापतिले संस्थापन पक्षबाट महाधिवशेनमा सभापतिका लागि एकमात्र उम्मेदवार बनाउन प्रमुख नेतालाई भेटेर आग्रह गरेका छन् ।
पूर्व सभापतिले त्यसका लागि बुधबार नेता डा शशाङ्क कोइरालालाई भेटेका थिए । आज कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालाई उहाँहरुकै निवासमा भेटेर सर्वसम्मत सभापतिको उम्मेदवार बनाउन आग्रह गरेको पूर्व सभापति रामनाथ अधिकारीले बताउनुभयो ।
सो भेटमा नेताहरुले त्यसमा आफू गम्भीर हुनुका साथै सकारात्मक भएको बताउनुभएको थियो । पूर्व सभापतिहरुले उद्देश्य पूरा नभएसम्म यस अभियानलाई अन्तिम समयसम्म जारी राख्ने र यसपछि महामन्त्री प्रकाशमान सिंह, नेता डा रामशरण महत, डा शेखर कोइराला, सुजाता कोइरालालगायतलाई भेट्ने उहाँले जानकारी दिनुभयो ।
अभियानमा पूर्व सभापति अधिकारी, तप्तबहादुर विष्ट, रामचन्द्र खड्का, रघुरमण न्यौपाने, भीमसेनदास प्रधान, विष्णु राई, तारमान गुरुङ, टेकबहादुर गुरुङ, यज्ञबहादुृर थापा, शिव हुमागाईं, प्रकाश पौडेल, तारा कोइराला, विदुर बस्नेतलगायत हुनुहुन्छ ।