संविधानले नागरिकता, रोजगारीको अवसरमा कसैलाई विभेद गरेको छैन : प्रधानमन्त्री ओली

संविधानले नागरिकता, रोजगारीको अवसरमा कसैलाई विभेद गरेको छैन : प्रधानमन्त्री ओली

  • सोमवार, फाल्गुन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नयाँदिल्ली, फागुन १० ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्ना छिमेकी भारत र चीनको तीव्र आर्थिक विकासबाट लाभ लिएर अघि बढ्ने बताएका छन् ।

आफ्नो राजकीय भ्रमणको चौथो दिन सोमबार नयाँ दिल्लीको भारतीय विश्व मामिला परिषदद्वारा सप्रु भवनमा आयोजित २१औं प्रवचन कार्यक्रममा सम्बोधन गर्दै ‘विकसित भारत र चीन दुबै छिमेकी मुलुकसँग विकासका लागि नेपालले परिणाममुखी साझेदारी गर्न चाहेको छ’–प्रधनमन्त्री ओलीले भने–‘यसमा हामी स्पस्ट छौं नेपालको माटोमा कोहीविरुद्ध कोहीलाई दुरुपयोग हुन दिने छैनौं । भारतको सुरक्षा चासो र ऊसँगको लामो मित्रतालाई पनि ध्यानमा राखेका छौं ।’

उनले संविधानले नेपाली जनताका विविधतायुक्त चाहना र भावनालाई सम्बोधन गरेको र संविधान जारी भएसँगै एक ऐतिहासिक राजनीतिक कार्यभार पूरा भएको बताए ।

उनले भने–‘संविधान एकाएक जारी गरिएको नभइ छलफल र लोकतान्त्रिक प्रक्रियाका आधारमा ल्याइएको हो । यसमा सबै विश्व समुदायको चासो र उत्सुकता थियो । हामीले त्यस भावनाको पनि कदर गरेका छौं ।’

‘संविधानसभाले सबै समुदाय र पक्षसँग छलफल र संवाद तथा सहमतिको प्रक्रियाबाट ९० प्रतिशत सभासदको मतबाट संविधान बनाएको हो । यसमा सबैपक्ष सबै बुँदामा सहमति नहुन पनि सक्छन् । संविधानले सबै मौलिक अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ । त्यसकारण यो संविधान नमुनायोग्य र प्रगतिशील छ’–प्रधानमन्त्रीले भने–‘संविधानले नागरिकता, रोजगारीको अवसर, समावेशीता, सामाजिक न्याय, समता र लोकतन्त्रजस्ता सवालमा कुनै समुदायलाई विभेद गरेको छैन, बरु पछाडि पारिएका समुदायलाई आरक्षणको पनि व्यवस्था गरेको छ ।’

उनले नयाँ संविधानअनुसार मुलुकमा महिला समुदायबाट राष्ट्रपति र सभामुखसमेत निर्वाचित भइसकेको उल्लेख गर्दै संघीयताको सीमासम्बन्धी सवाल हेर्न संविधानले संघीय आयोगको व्यवस्था गरेको जानकारी गराए ।

संविधानसँगै नेपालले लामो समयदेखिको संक्रमणकालको अन्त्य गराएकोमा विश्व समुदाय र भारत सरकारले यसलाई महत्वपूर्ण उपलब्धिकारुपमा लिएकोमा प्रम ओलीले आभार पनि व्यक्त गरे ।

संविधान आएसँगै राजनीतिक स्थिरता र मुलुकको आर्थिक विकासमा लाग्नु नेपालको मुख्य प्राथमिकताको विषय भएकाले नजिकको छिमेकी र महत्वपूर्ण विकास साझेदार भारतसँग परम्परागत् र लामो सम्बन्ध रहेकाले आपसी सम्बन्धलाई कुनै सम्झौता वा दस्तावेजमा सीमित नराखी भावनात्मक आधारमा पनि हेर्नुपर्ने बताए ।

उनले भने–‘हामीहरु एकापसमा विश्वास, सम्मान, सार्वभौमसत्ता, स्वच्छ मैत्री सम्बन्ध र समृद्धिको मार्गदर्शनमा अघि बढेका छौं । यो सम्बन्ध सरकार सरकारमामात्र नभइ जनता जनतामा पनि जोडिएको छ । त्यसैले आपसी सम्बन्ध विस्तार र सुरक्षाका सवालमा हामी संवेदनशील छौं ।’

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटमा दुई देशबीच पछिल्ला समयमा देखिएको तिक्तता र असमझदारी हटाउने प्रयास गरिएको र आगामी दिनमा त्यस्ता असमझदारी नरहने विश्वास व्यक्त गरे ।

भारतको आर्थिक तथा विज्ञान, प्रविधिको क्षेत्रमा भएको विकासलाई पछ्याउनुपर्ने उल्लेख गर्दै उनले भूकम्पपछिको अवस्थामा भएको भारतीय सहयोगको प्रशंसा गरे ।

दुवै देशका जनताका बृहद् लक्ष्य प्राप्तिका लागि आपसी समन्वय र सहयोगमा जोड दिँदै उनले जलस्रोत, ऊर्जा, व्यापार, पारवहन, कनेक्टिभिटी, सांस्कृतिक सम्पदा र सभ्यताका क्षेत्रमा अग्रगामी र प्रगतिशील दृष्टिकोणकासाथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले संविधानमा आफ्नो पार्टीको पनि केही विषयमा फरक मत रहेपनि दुई तिहाइले पारित गरेकाले त्यसलाई ग्रहण गरेको भन्दै नयाँ संविधानले सबै समुदायलाई समेटेको बताए ।

उनले कतिपय गलत बुझाइका कारण संविधान जारीपछि नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आएपनि प्रधानमन्त्री ओलीको भ्रमणबाट अस्पस्टता हटेको बताए ।

कार्यक्रममा भ्रमण दलका अन्य सदस्य, भारतका कूटनीतिज्ञ, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ