काठमाण्डौ,१० फागुन ।
सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बेच्ने निर्णय उल्ट्यादै पूरा तौलको ग्यास सिलिन्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो । आजैदेखि ग्यास उद्योगहरुले सिलिन्डरमा १४ दशमलव २ किलो कै ग्यास भर्न सुरु गर्ने आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।
आपूर्तिमन्त्री गणेशमान पुनले आधा सिलिन्डर ग्यास बेच्ने गत कात्तिकको निर्णय स्थगित गर्दै पुरानै व्यवस्था लागू गर्ने निर्णय गर्नुभएको प्रवक्ता सुवेदीले बताउनु भयो । आयल निगमले पनि मन्त्रालयलाई ग्यासको आयात बढेको भन्दै आधा सिलिन्डरबाट फेरि भरि सिलिन्डरमा जान सुझाब दिएको थियो ।
यस्तै ग्यास उद्योगी तथा व्यवसायी र उपभोक्तावादी संस्थाहरुले पनि आधा सिलिन्डरले उपभोक्तालाई लगातार लाइनमा बस्न बाध्य बनाएको भन्दै १४ दशमलव २ केजी मै फर्कन दबाब दिएका थिए । वाणिज्य विभागको समेत दबाबलाई झेल्दै मन्त्रालयले ग्यास आयात सहज नभएसम्म निर्णय उल्ट्याउन नसकिने बताएको थियो ।