काठमाडौं, १० फागुन ।
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आसन्न महाधिवेशनमा सभापति पदमा आफ्नो पनि दाबेदारी रहेको घोषणा गर्नु भएको छ ।
काठमाडौंका महाधिवेशन प्रतिनिधिहरुको स्वागतमा नेपाल विद्यार्थी संघ काठमाडौंले आज आयोजना गरेको कार्यक्रममा बोल्नु हुदै महामन्त्री सिंहले आफू पार्टीको उपसभापति र महामन्त्री भइसकेकाले अब स्वभाविक रुपमा सभापतिमा दाबेदारी रहेको बताउनु भयो ।
देशभरका महाधिवेशन प्रतिनिधिहरुसँग अहिले आफु छलफलमै रहेकाले केही दिनभित्रै उम्मेदवारीको औपचारिक घोषणा गरिने महामन्त्री सिंहले बताउनुभयो । आफूले नेतृत्वको असर पाए पार्टीको ६०÷४० को भागबण्डा अन्त्य गर्न सफल हुने उहाको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस नेता डाक्टर सशांक कोइरालाले १३ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने भन्दै कांग्रेसभित्र अब पनि एकता कायम हुन नसके मुलुकमा राजनीतिक दुर्घटनाको खतरा रहेको औंल्याउनु भयो ।
कोइरालाले पार्टी एकताका लागि आफु यो महाधिवेशनमा अभिमन्यु बन्नु परे पनि तयार हुने बताउनु हुदै पार्टीभित्रको भागबण्डाको राजनीतिक अन्त्यका लागि सुकै कदम चाल्न तयार रहने धारणा राख्नुभयो ।
उता विराटनगरमा नेपाल प्रेस युनियन मोरङले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेतृ सुजाता कोइरालाले १३औं महाधिवेशनमा आफनो सभापतिको उम्मेदवारी अहिलेसम्म कायम रहेको जानकारी दिनुभयो ।
उहाले मुलुक संघियतामा गइरहेकाले पार्टीलाई पनि बहुपद्धती प्रणलीमा लैजानु पर्ने बताउनु भयो । युवा पुस्ताको नेतृत्व विकास गर्न र संगठन सुदृढिकरणका लागि पनि पार्टी नेतृत्वलाई पहुपद्धतिमा लैजानुपने उहाको भनाई थियो ।