काठमाडौं, ६ फागुन ।
सरकारले राष्ट्रमा रहेको उर्जा संकट निवारण गर्न राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक कार्ययोजना ल्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले उर्जा संकट निवारण तथा विद्युत विकास दशक कार्ययोजना पारित गरेको छ ।
अहिले भइरहेको लोडसेडिङ एक वर्षभित्र आधारभुत रुपमा अन्त्य गरी १० वर्ष भित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको सरकारले कार्ययोजना ल्याएको हो । एक वर्षभित्र नागरिकले महसुश गर्ने गरी आधारभुत रुपमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजनामा उल्लेख छ ।
यस्तै दुई वर्ष्भित्र आवश्यक बिजुली जलविद्युत आयोजनाबाटै उत्पादन गर्ने तथा १० वर्ष्भित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने तथा त्यसका लागि गर्नु पर्ने काम पनि कार्ययोजनामा समेटिएको छ ।
यस्तै मन्त्रीपरिषद बैठकले २१ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद बैठक साझ ६ बजे पुनह बस्ने बताइएको छ ।