प्यूठान, ५ फागुन ।
प्यूठान जिल्लामा सञ्चालन भएको दादुरा रुबेलाविरुद्धको पहिलो चरणको खोप अभियान सम्पन्न भएको छ । सो अभियानमा करिब १३ हजार ६४० बालबालिकालाई खोप दिइएको छ ।
दुई चरणमा सुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा क्षेत्र नं १ का २५ वटा गाविसमा अभियान सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो चरणको अभियान सम्पन्न भएको भन्दै खोप अधिकृत विष्णु पोख्रेलले जिल्लामा दोस्रो चरणको अभियानको तयारी पनि तीव्र पारिएको जानकारी दिनुभएको छ ।
दोस्रो चरणअन्तर्गत निर्वाचन क्षेत्र नं २ का गाविसमा फागुन ७ देखि १५ गतेसम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
राष्ट्रियस्तरबाटै सञ्चालन भएको अभियान सन् २००४ देखि नेपालमा सुरु भएको थियो । नौ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लगाइएको खोप पहिलो चरणमा २२५ खोप केन्द्रमार्फत लगाइएको छ । जिल्ला ४४१ खोप केन्द्रबाट दुई चरणमा अभियान सम्पन्न हुने भन्दै स्वाथ्य कार्यालयले अभियानबाट प्यूठानका २४ हजार ३६० जना बालबालिकालाई खोपको लक्ष्यमा राखेको जनाएको छ ।
दादुरा नियन्त्रणका लागि सरकारले हरेक चार वर्षको अन्तरालमा यो अभियान सञ्चालन गर्दै आइरहेको छ । सन् २०१९ सम्म दादुरा रुबेलालाई पूर्ण नियन्त्रण गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको स्वास्थ्य कायालयले जनाएको छ । पहिलो चरणको अभियानमा ४५० जना स्वयम्सेविकाले सेवा दिएका छन् ।
दादुरा रोग लागेपछि कान नसुन्ने तथा आँखा नदेख्ने जस्ता गम्भीर समस्या हुने भन्दै चिकित्सकले दादुरा रुबेलाको खोप अनिवार्य रुपमा लिनुपर्ने बताएका छन् ।