काठमाडौ ४ फागुन ।
नेपाली कांग्रेस बागलुङको जिल्ला अधिवेशन आज हुदैछ । पार्टी सभापति सुशील कोइरालाको असमायिक निधनपछि स्थगित भएको अधिवेशन आज हुन लागेको हो ।
अधिवेशनमा सभापतिका लागि तीनजनाले प्रतिस्पर्धा गर्दैछन् । जिल्ला अधिबेशनमा ५९ गाविस र एक नगरपालिकाबाट छनोट भएका प्रनितिधिहरुले मतदान गर्ने छन् ।
३ वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा ६९२ जना मतदाताले यस पटकको अधिवेशनमा मतदान गर्ने नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति प्रकाश शर्मा पौडेलले बताउनु भयो ।
यस पटक सभापतिको नेतृत्व हातपार्न जगदिशचन्द्र उपाध्याय, दिपेन्द्र बहादुर थापा र पुराना काँग्रेस नेता मणीभद्र शर्मा कँडेल चुनावी मैदानमा उत्रिएका छन् ।
यस पटकको निर्वाचनमा संस्थापन पक्ष र देउवा पक्षबीच तिब्र प्रतिस्पर्धा हुने देखिन्छ । सभापतिको उम्मेदाबार उपाध्ययालाई निवर्तमान सभापति एवं क्षेत्र नम्बर २ का सांसद प्रकाश शर्मा पौडेल तथा पुर्व सभापति हरि श्रेष्ठको साथ रहेको छ ।
यस्तै थापालाई क्षेत्र नम्बर १ का सांसद चम्पादेवी खडका र क्षेत्र नम्बर ३ का सांसद ज्ञानकुमारी छन्त्यालको साथ छ भने कडेंललाई पुराना कांग्रेस नेताहरुको साथ रहेको छ ।