काठमाडौ ३ फागुन । पार्टी सभापति सुशील कोइरालाको निधनका कारण स्थगित भएको कांग्रेसको क्षेत्रीय र जिल्ला अधिवेशन आजबाट हुँदैछ ।
विशेष गरी तराईका ८ जिल्लाका बाँकी रहेका स्थानमा आजबाट अधिवेशन हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
सर्लाहीका क्षेत्र नं. २, ४ र ५ मा आज अधिवेशन हुँदैछ भने क्षेत्र नम्बर ३ को अधिवेशन केही दिनपछि हुने सांसद अमरेशकुमार सिंहले जानकारी दिनुभयो ।
यस्तै क्षेत्रीय अधिवेशन गर्न बाँकी पर्सा जिल्लाका सबै क्षेत्रमा जिल्ला निर्वाचन अधिकृत फर्किएपछि मात्रै क्षेत्र र जिल्ला अधिवेशनको मिति तय हुने सांसद राजेन्द्रबहादुर अमात्यले बताउनु भयो ।
बारा जिल्ला पार्टी सभापति एवम् सांसद राधेचन्द्र यादवका अनुसार वाराका सबै नगरपालिकामा फागुन ४ गते र क्षेत्रीय अधिवेशन ८ गते हुने तयारी भएको छ । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाको पूर्वानिर्धारित आमसभा ७ गतेका लागि तय भएको कारण ८ गते मात्रै क्षेत्रीय अधिवेशन गर्ने कांग्रेसले जनाएको छ ।