इलाम, २ फागुन ।
सोह्रवटा गाउँ विकास समितिलाई समेटेर छवटा नगरपालिका स्थापनाका लागि जिल्ला विकास समितिले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने भएको छ ।
नगरपालिका सिफारिस समिति, जिविसको सर्वदलीय बैठकले सरोकारवालाबीचको तीन÷चारवटा गाविसलाई गाभेर नगरपालिका बनाउन सिफारिस गर्न लागेको हो ।
पशुपतिनगर, श्रीअन्तु, समालबुङ र गोर्खे गाविसलाई समेटेर एउटा गाविस बनाउन लागिएको छ । यसैगरी चिसापानी, दानाबारी र महमाईलाई गाभेर दोस्रो, बरबोटे, सुम्वेक र माईपोखरीलाई समेटेर तेस्रो, शान्तिडाँडा, साँखेजुङ र पुवामझुवालाई समेटेर चौथो, चमैता, एकतप्पा र फाकफोक गाविसलाई पाँचौँ र चुलाचुली गाविस सिङ्गैलाई छैठौँ नगरपालिकाको सिफारिसका लागि गाविसस्तरमा छलफलका लागि पत्राचार गरिएको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताउनुभयो ।
“मोटामोटी गाउँबाट सहमति भएर आइसकेको र एक÷दुईवटाको पनि आजैभोलि आउने तयारी छ, सबैलाई एकैपटक सिफारिसका लागि मन्त्रालय पठाउने तयारी गरेका छौँ” – सूचना अधिकारीसमेत रहनुभएका खतिवडाले भन्नुभयो ।
मन्त्रालयको नगरपालिका व्यवस्थापन शाखाले नयाँ नगरपालिका सिफारिस गर्दा स्थानीय स्वायत्त शासन ऐनको दफा ७२, ७४ र ८८ तथा स्थानीय स्वायत्त शासन नियमावली–२०५६ को नियम ७३, ७४ को प्रावधान तथा सोअनुरूपको न्यूनतम मापदण्ड पूरा भएमा मात्र नयाँ नगरपालिकाको प्रस्ताव गर्नुपर्ने जनाउँदै जिविसलाई पत्राचार गरेको छ ।