काठमाडौँ, २६ माघ ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरीएको छ । सोमबार राति निधन भएका स्वर्गीय कोइरालाको पशुपति आर्यघाटमा अन्त्येष्टी गरीएको हो ।
कोइरालालाई भतिजा सुधांशु कोइराला र अतुल कोइरालाले दागबत्ती दिनुभएको छ । अन्त्येष्टी अगाडी कोइरालाको सम्मानमा नेपाली सेनाले १३ तोपको सलामी दिएको छ ।
अपरान्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी , ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो । शवयात्रामा हजारौंको संख्यामा कंग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी भएका थिए ।
त्यसअघि उहाँको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि हिजो दिउँसो देखि नै दशरथ रङ्गशालामा राखिएको थियो । कोइरालाको निधनमा शोक मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
त्यस्तै देशभरका सरकारी कार्यालय तथा विदेशस्थित कुटनितिक नियोग तथा निकायहरुमा हिजोदेखी तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाएको छ । यसैगरी बिहिबार र शुक्रबार पराष्ट्रमन्त्रालय तथा विदेशस्थित नेपाली दुतावासमा शोक पुस्तिका राखिने सरकारले जनाएको छ ।