२७ माघ, कञ्चनपुर ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पाटेबाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएपछि अर्को क्यामेरा जडान गरी कार्य सुरु गरिएको छ । आरक्षको मालुवेलाको सलगौडी ताल नजिकै राखिएको एक थान क्यामेरा चोरी भएको थियो ।
अनुगमनका क्रममा पाटेबाघ गणनाका लागि राखिएको क्यामेरा चोरी भएपछि अर्को क्यामेरा जडान गरेर कार्य सुरु गरेको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो ।
पाटेबाघको संख्या यकिन गर्नका लागि आरक्ष कार्यालयले दुई साताअघि देखि स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरिरहेको छ । स्वचालित ४६ जोडी क्यामेरा, २० भन्दा बढी प्राविधिकको टोली र हात्तीको सहायताले बाघ गणनाको कार्य भइरहेको छ ।
गत पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेका पाटेबाघको सङ्ख्या गत वर्ष बढेर आरक्षमा १७ पुगेको थियो । यस वर्ष पाटेबाघको सङ्ख्या बढ्ने अनुमान गरिएको आरक्ष कार्यालयले जनाएको छ ।