कमरेड माओले भन्नुभएको छ, हामीले पार्टीमा विश्वास गर्नुपर्दछ र हामीले जनतामा विश्वास गर्नुपर्दछ । यी दुई कुरामा शंका गरियो भने केही पनि गर्न सकिदैन आजको सन्दर्भमा माओको यो भनाईलाई गम्भीर विश्लेषण, व्याख्या र स्वीकार गर्नुपर्ने परिस्थितीको सिर्जना भएको छ । हजारौँ होनहार सपुतहरुको त्याग, तपस्या र बलिदानीबाट विकशित माओवादी आन्दोलन नयाँ उचाईको शिखर टेकेर टुक्रा टुक्रामा विभक्त हुँदै अस्तित्वलोपको खतरामा पुग्नु पार्टी प्रति अविश्वासको कारण हो या होइन ? पार्टीमा विश्वास गर्दैजाँदा जब पार्टी विचारशुन्य र जनतालाई संगठित गर्ने आधार गुमाउन पुग्दछ तव त्यो पार्टीको औचित्य र उपस्थितीको महत्व के ? विश्वास गर्नलाई आधार जीवीत राख्नुपर्दछ । जब आधारशिला नै घाती, नौटंकी र दिग्भ्रमित पार्ने हुन्छन् तब विश्वास र लगावको खासै अर्थ रहदैन । पार्टी, क्रान्ति, आन्दोलन र जनतानै सर्वेसर्वा, सार्वभौम भनिरहदाँ नेतृत्वमा चरम व्यक्तिवादी चिन्तन नोकरशाही चरित्र, आत्मसर्मपणवाद विकाशित हुन पुग्यो र अन्ततः पार्टी गुटफुटलाई बेहोर्दै विर्सजनको दिशामा अगाडी बढ्यो । समाज परिवर्तनका क्रममा पुराना रुपहरु निषेध नभई नयाँ स्वरुपको विकास र विस्तार हुन सक्दैन भन्ने समाज विकाश र रुपान्तरणको माक्र्सबादी व्याख्यालाई आत्मसात गर्न नसक्नु माओवादीको सैद्धान्तिक कमजोरी रहेको थियो । आदिम साम्यवादी समाज देखि दास समाज, दास समाज देखि सामन्ती समाज, सामन्ती समाज देखि पुँजीबादी समाज, पुँजीबादी समाज देखि साम्यवादी समाज सम्म हरेक समाज रुपान्त्रित, परिस्कृत र विकसित ढङ्गबाट अगाडी बढ्ने शाश्वत सत्य हो । यही सत्यतालाइृ स्वीकार्दै सही समयमा सहि निर्णय लिन सक्नु पर्दथ्यो । विचार, नीति र कार्यक्रमलाई समाज र समय अनुरुप परिमार्जित र परिष्कृत गर्दै आन्दोलनको स्प्रीड प्राप्त गर्नुपर्दथ्यो, तर यस्तो हुन सकेन । जडसुत्रवादी चिन्तन बोकेर नवीनतम कार्यथालनी गर्दै विजय र उपलब्धीको पाहड नै प्राप्त गरे पनि त्यहाँ व्याप्त आत्म केन्द्रित मनोवादी व्याख्या, रुढीवाद र व्यक्तिवादी चिन्तनले अन्ततः सबै आभार भत्काएर चिहान तर्फ उन्मूख यात्रा तय गर्ने कुरा समयले पाठ सिकाएको छ । दुनियाँ जित्ने हुंकार दिने पार्टी विजय–पराजय–विर्सजनको यात्रामा कसरी लम्कीयो ? यसका विविध विषयबस्तुको सुक्ष्म अध्ययन जरुरी छ ।
१) सामाजिक र नै तिक चरित्र गुमाएकाहरुको बर्चस्व:–
दस वर्षे जनयुद्ध देखि सत्ताको बागडोर सम्म आइपुग्दा संगठनको संरचनाहरुमा व्यापक फेरबदल भयो । गुणात्मक भन्दा संख्यात्मकमा नेतृत्वको जोड रह्यो । पार्टी नीति, सिद्धान्त, योजना र कार्यक्रमलाई प्रमुख हयेयमा राख्ने काम हुन सकेन । पार्टी प्रवेश गर्नेहरुलाई आवधिक परिक्षणकाल पश्चात विभिन्न मोर्चा र जनवर्गीय संगठनको सदस्यता र जिम्मेवारी दिने प्रचलनलाई विर्सेर मनपरी गर्दा आफैँले कारबाही गरेका चोर, डाँका, फटाह, सामन्त र सामजिक नैतिक चरित्र गुमाएकाहरुको भर्ती केन्द्र बन्न पुग्यो । रुपान्तरण नाममा एकत्रित गराएर परिचालन गर्न नसक्नु र यस्ता प्रवृतिका अवसरवादी झुण्डबाट पर्ने दीर्धकालीन असरहरुमा नेतृत्व सचेत र सजग हुन नसक्नु गम्भीर त्रुटी थियो । लामो समय पार्टी क्रान्ति र आन्दोलनमा रगत पसिना र बलिदानी गरेकाहरु गैर क्रान्तिकारी असक्षम अनि ०६२÷०६३ देखि लागेका चैते हुरीहरु क्रान्तिका बाहक र नायक सोचेर उच्च स्थान दिनु नेतृत्वको अदूरर्दशीता थियो । यही प्रवृतिले अविश्वास, नैराश्यता र क्रोधको जन्म दियो । संधर्षको मैदानमा होमिएका हजारौं इमान्दार जुझारु कार्यकर्ता शारिरीक र मानसिक क्षति भोग्दै पलायन हुन बाध्य भए । माओवादी आन्दोलन र सहभागितालाई कमाउ धन्दाको वैकल्पीक बाटोको रुपमा स्थापित गर्न पुगे । हतियार होइन निर्वाचनबाट पनि लडाँइ जितिन्छ भन्ने अवधारणा स्वीकारेको माओवादीमा छोटै समयमा धेरैको एकत्रित भयो । कहीँ कतै ठाँउ नपाएका धृणित र तिरस्कृतहरुको तीर्थयात्रा गर्ने तीर्थस्थल बन्न पुग्यो । बाँकी रहेका इमान्दार कार्यकर्तामा पनि ठूलो तरङ्ग सिर्जना हुने काम भयो । यीनै भ्रष्ट, सामाजिक रुपमा पतित आचरणका व्यक्तिहरुबाट निर्देशित हुनुपर्ने अवस्थामा पुगेपछि पार्टीको इमान्दार कार्यकर्ता पंक्तिमा मनोवैज्ञानिक असर रहन पुग्यो । पार्टी सम्पति कुम्ल्याउन र कमाउ धन्दामा लागेपछि शुद्धिकरणलाई ध्यान दिनै सकेन अन्ततः विग्रह नै अन्तिम आवश्यकता थियो , फलतः माओवादी आन्दोलन कमजोर बन्दै विर्सजन उन्मूख रहन पुग्यो ।
२) वैचारिक विचलन :–
माक्र्सवाद, लेनिनवाद र माओवादको वैचारिक धरातलमा स्थापित माओवादी पार्टी र आन्दोलनमा धेरै सैद्धान्तिक विषय सुस्पष्ट नहुँदा नेतृत्वमै विचलन देखा प¥यो । माक्र्सवादी मूल दर्शन द्धन्द्धात्मक भौतिकवादलाई आफू अनुकुल व्याख्या गर्ने नेतृत्वको कार्यशैलीले र विविधताले पार्टीको वैचारिक संस्थागत विकास हुन सकेन । माक्र्सवादलाई वैज्ञानिक र व्यवहारिक ढङ्गबाट नेपाली समाजमा प्रयोग गर्ने कुरामा कमजोरी, अपरिपक्कता, व्यक्तिवादी चिन्तन रहन पुग्यो जसका कारण अन्तर संधर्ष शत्रुतापुर्ण ढङ्गबाट विकशित हुन पुग्यो । पार्टी संसदीय राजनीतिमा आएपछि नेतृत्वमा जडसुत्रबाद, परम्पराबाद र आर्दशवादी चिन्तन विकशित रहन पुग्यो र पार्टी आधिकारिक लाइनबाट स्ंखलित रहन पुग्यो । मालेमावादको अनुशरण, प्रयोग र विकाशमा सैद्धान्तिक कमजोरी रहन पुगेको तीतो यर्थाथ हो । पार्टीमा वैचारिक संघर्ष भन्दा बढी व्यक्तिवादी संघर्षहरु झांगीएर गए । वैचारिक संघर्षका नाममा पद, प्रतिष्ठा, लोकप्रियताका लागि फिक्का बहस भए जसले वैचारिक विचलनलाई स्थापित गराँउदै, सबै आधार भत्काउदैँ–भत्काउदैँ गयो र माओवादीले बुझ्नै नसकेको कुरा के हो भने “वैचारिक रुपान्तरण” । विचार निर्जीव हुदैँन, यो त शाश्वत हुन्छ र शाश्वत कुरा नै चेतनशील हुन्छ । सच्चा क्रान्तिकारी देखिन आन्दोलन कस्तो दिशामा अगाडी बढ्यो भन्दा “झिङ्गाको बासो जम्मा गरेर घार्नी पु¥याउन । खोजे जस्तो देखियो । व्यक्ति नै विचार र व्यक्ति नै संगठन भन्ने अधिनायकवादी चिन्तनको विकाशले विचारलाई स्थापित गराँउदै एकरुपता कायम गराउन सकेन । छोरो जति गरिब भए पनि आमा बेच्न सक्दैन , नैतिकता, सदाचार र इमान्दारिता विरुद्ध सम्झौता गर्दै पार्टीले सत्ताका लागि विचार बेच्यो । अन्ततः पार्टी विर्सजनको दिशामा अगाडी बढ्यो ।
३) कार्यशैली, चरित्र र व्यक्तिवाद
जनताको काख र सामीप्यतामा हुर्केको पार्टी सत्तासीन भएपछि आफ्नो ऐतिहासिक विगतलाई विर्सन पुग्यो । आफूलाई सर्वेसर्वा, महान र क्रान्तिको ठेकेदार सोच्ने विकृत भावनाको विकाश नेतृत्व स्तरमा रहन पुग्यो । जुन जनताले प्रत्येक साँझ विहान आफ्नो छाक काटेर बचाँएका थिए, सत्तामा पुगेपछि उनै जनता सँग घमण्ड, रवाफ र जंगली व्यवहार प्रर्दशित गरे । सर्वहारा वर्गको हक अधिकार रक्षा र प्रप्तिको संघर्षमा केन्द्रित हुन भन्दा व्यक्तिगत महत्वकांक्षा, पद, प्रतिष्ठा र प्रचार सँगै शक्ति केन्द्रिकरण गदैँ अन्धभक्तको विकाश तर्फ जोड दियो । फरक मत–फरक दृष्टिकोणलाई स्वीकार्दै स्वीकार्न नसक्ने र कसैले थोरै फरक मत राखे भौतिक हिसाबमा साफाया गर्ने यस्तो निर्मम कदमले पार्टी भित्रै जनवादी केन्द्रियताको अभ्यास हुन सकेन । जनबादका नाममा अराजक र केन्द्रियताको नाउँमा तानासाही नेतृत्वको पक्षपोषण हुन पुग्यो । नेतृत्वको दैध चरित्रले विचारलाई दुष्प्रभावी बनायो । नेताहरुको चरित्र कलाकारको जस्तै भयो । ठाँउ पिच्छे , मञ्च पिच्छे फरक फरक कुरा गर्ने । ब्रह्मण बाहुल्यतामा गएर ब्राह्मण चुच्चेहरुले नै देश हाँकेको इतिहास वर्णन गर्ने र अन्य जातीहरुको बाहुल्यतामा गएर ब्राह्मणवादी संस्कार र शासन प्रणलीका कारण अन्य जातीहरु पछाडी परेको तर्क प्रस्तुत गर्ने, यसले सामाजिक सन्तुलनलाई अव्यवस्थित पारिदियो । जातीवादी, क्षेत्रीयतावादी सोचले व्यापकता पायो र प्रमुख वर्गिय ऐजेन्डा ओझेलमा रहन पुग्यो । नेतृत्वमा व्यक्तिवाद अत्यन्त तुच्छ ढङ्ग बाट विकशित भयो । लोकप्रियताका लागि चाकडी चाप्लुसी गर्ने नेताहरु पद र प्रतिष्ठाका लागि दातृ निकायको ढोका चाहर्ने काम गरे । राष्ट्रवादलाई माहाकालीमा बगाएर व्यक्तिवादको गायत्री जप्दै क्रान्तिकारी देखिने नेताहरुको नाङ्गो रुप छर्लङ्ग हुन थाल्यो । लाखौँ आस्थावानहरु माथि यसले राजनैतिक वितृष्णा जगाएर माओवादी आन्दोलनको जग भत्काउने काम ग¥यो ।
अन्तिममाः इतिहासले धेरै पाठ सिकाउदैँ नयाँ नयाँ गोरेटोहरुको निर्माण गर्दछ । पार्टीमा आयातीतहरु र एकता पश्चात शीर्ष स्थानमा रहेका कामका भन्दा कुराका भारीहरु बेला मौकामा मोर्चाहरुको लडाइको सबिस्तार सुनाँउदा पेट मिचि मिचि हाँस्न सफल बनाउँछन् । हास्यकलाकारको जस्तो भुमिका निर्वाह गरेकाहरुलाई सम्मान गर्नैपर्दछ । इन्द्रका अगाडी स्वर्गको बयान गर्ने नवआगन्तुक बालकहरुलाई प्रशिक्षित पार्ने कुरामा पार्टीको गम्भीर त्रुटि रहेको छ । सङ्ख्यात्मकतामा जोड दिएर गुणात्मकताको ख्याल नगर्दा यसले गम्भीर मतभेदहरुको जन्म गरायो । दुधको साँचो बिरालो हुनसक्दैन, डम्बरुहरुको झुण्डमा स्यालकाृ अस्तित्व हुन सक्दैन । बघिनीका काखमा डम्बरुकै शोभा हुन्छ, ती काखहरुमा आज भोली स्यालहरु खेलिरहेका छन्, यसलाई पार्टीले समयमा बुझोस् । अन्यथा सही मार्ग पहिल्याएर अगाडी बढ्न नसके विसर्जन मात्र होइन, अस्तु पनि नभेट्टिने खतरा सबल भएर गएको छ ।