काठमाडौं,२२ माघ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेकोे छ ।
पदाधिकारी नियुक्ति गर्ने विषयमा काँग्रेस, एमाले र एमाओवादीले एकलौटी ढङ्गले निर्णय गरेको भन्दै कञ्चनपुरको महेन्द्रनगरस्थि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र शाहले जानकारी दिए ।
सुदूरपश्चिमको धरोहरको रुपमा रहेको विश्व विद्यालयमा सबै प्राध्यापक संघ र विद्यार्थी सङ्गठनहरुसँग कुनै छलफल नै नगरी मनपरीे ढङ्गले एमाओवादी, काँग्रेस एमालेले डिन, रजिस्टार र परीक्षा नियन्त्रक नियुक्ति गरेको क्रान्तिकारले आरोप लगाएको छ ।
अखिल क्रान्तिकारीको कञ्चनपुर जिल्ला संयोजक प्रकाश र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सुप विश्यविद्यालयका संयोजक प्रेमसिंह भाटले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पदाधिकारी नियुक्तिमा गरेको मनमरीविरुद्ध तालाबन्दी गरेको बताएका छन् ।
सबैलाई मिलाएर लैजानुको साटो व्यक्तिगत सम्पति भागबण्डा गरेजस्तै विश्व विद्यालयको पदाधिकारी नियुक्तिमा मनपरी गरेकोले यो प्रक्रिया नमिलाएसम्म ताला नखुल्ने क्रान्तिकारीको चेतावनी छ ।
तालाबन्दीका कारण विश्वविद्यालयको सबै कार्य ठप्प भएको छ ।