मन्त्रीको टेलिफोन सम्पर्क नभएपछि……

मन्त्रीको टेलिफोन सम्पर्क नभएपछि……

  • बिहिबार, माघ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

२१ माघ, नुवाकोट ।

स्थानः नुवाकोटको तारुकास्थित नेकपा ९एमाले० जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको अस्थायी टहरो, जहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल निकै छट्पटीमा देखिन्थे ।
मन्त्री पोखरेलले कोटको खल्तीबाट मोबाइल झिके । नम्बर थिच्दै फोन गर्ने प्रयास गरे तर मोबाइलमा ‘नो नेटवर्क’ सिग्नल देखियो । पुनः थिचे, फेरि पनि नेटवर्क देखिएन ।

कुर्सीमा बसेका मन्त्री जुरुक्क उठे । वरपर टावर हेर्दै फेरि मोबाइल थिचे । मोबाइलले फेरि पनि नो सिग्नलको सङ्केत नै गरिरहेको थियो ।

छट्पटिरहेका मन्त्रीले फेरि कोटको खल्तीबाट अर्को मोबाइल निकालेर नम्बर डायल गरे । फेरि पनि हालत पहिलेकै दोहोरियो । त्यसबेला मन्त्री पोखरेलले निकै हतासिँदै भने, ‘मेरो फोन गर्नुपर्ने जरुरी काम थियो, मोबाइलमा नेटवर्क नै छैन ।’

त्यसबेलासम्म वरिपरि मानिसको घुँइचो लागिसकेको थियो । सबैले मन्त्रीतिर हेर्न थाले । आफ्नो अस्थायी टहरोबाट निस्किँदै एमाले जिल्ला अध्यक्ष खतिवडाले थपे, ‘यहाँ त मोबाइलको टावर नै आउँदैन, देश विदेशमा आफन्तसँग कुरा गर्न वडो मुस्किल छ ।’

मन्त्रीले अचम्म मान्दै सोधे, ‘यहाँ कहिलेपनि मोबाइलको नेटवर्क आउँदैन रु अनि कहाँ पुगेर फोन गर्नुहुन्छ रु’ मन्त्रीको जिज्ञासा नसकिँदै स्थानीय कृष्णबहादुर माझीले थप्नुभयो, ‘यहाँ त नेटवर्क नै आउँदैन, बरु मन्त्रीज्यूले मोबाइलको टावर राखिदिन पहल गरिदिनुपर्यो ।’

माझीसँगै अरुले पनि मन्त्रीलाई यस्तै आग्रह गरे ।
नुवाकोट क्षेत्र नम्बर ३ बाट वि।सं २०६४ सालमा विजयी तथा तत्कालीन सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटीले सो क्षेत्रमा नेपाल टेलिकमको टावर राख्नका लागि निकै प्रयास गरेका थिए । तर उनको निधनपछि टावर राख्ने काम हुनसकेको छैन ।

स्थानीय बासिन्दाले धेरैपटक टावर राख्न पहल गर्दा पनि काम अघि बढ्न सकेको छैन । राजधानीबाट नजिकैको दूरीमा रहेको भएपनि नुवाकोटको तारुका क्षेत्रमा टेलिकमको टावर छैन । स्थानीयले विगतमा भएका प्रयास मन्त्री पोखरेललाई सुनाए ।‘यस बारेमा सूचना तथा सञ्चार मन्त्री शेरधन राईसँग कुरा गर्छु,’ मन्त्री पोखरेलले स्थानीयलाई वचन दिए ।

भूकम्पपीडितका लागि बनाइएका अस्थायी भवन हस्तान्तरण गर्न मन्त्री पोखरेल सोमबार तारुका पुगेका थिए । समय अघि बढिरहेको थियो । त्यत्तिकैमा पन्चैबाजासहितको टोली त्यहाँ आइपुग्यो । बाजा घन्किएको आवाजले सबै मानिसको ध्यान केन्द्रित गर्यो । अनि त्यहाँ भएका सबैजना औपचारिक कार्यक्रमस्थल माझीटारतर्फ लागे ।

यसरी स्थानीयले सधैँ भोगेको समस्या मन्त्री पोखरेलले पनि भोगेपछि टावर राख्ने कुरामा केही प्रगति भैहाल्छ कि भन्ने आशा भने स्थानीयमा जागेको अनुभूति भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ