काठमाडौ २१ माघ ।
बिगत लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जारी आन्दोलनको स्वरुप परिबर्तन गर्ने तयारी गरेको छ । मोर्चाका शीर्ष तहमा नाकाबन्दी खोल्ने विषयमा एकमत नदेखिएपनि आन्दोलनको स्वरुप परिवर्तन गर्ने विषयमा भने सबै नेताहरू सहमत भएका छन ।
मोर्चाले सिमानाकामा जारी अबरोध हटाउने संकेत गरेको छ । नाकाबन्दी समयावधी तोकेर फिर्ता लिने तयारी गरेको मोर्चाले आन्दोलनको स्वरुप परिबर्तन गरी आन्दोलनलाई जारी नै राख्ने तयारी गरेको छ ।
सरकार र मोर्चाबीच पछिल्लो समय भएको छलफलपछि ब्युँताइएको कार्यदलस्तरमा सीमांकनका विषयमा केही लिखित सहमति भएपछि समयावधी तोकेर आमहड्ताल र नाकाबन्दी फिर्ता लिनेबारे मोर्चाभित्र तयारी सुरु भएको हो।
आमहड्ताल र सिमानाकामा जारी अबरोध फिर्ता लिने सम्बन्धमा मोर्चाको शीर्ष तहमा छलफल भईरहेको मोर्चाका एक नेताले जानकारी दिएका छन । मोर्चाको आगामी बैठकले यस विषयमा औपचारिक निर्णय गर्ने फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।