म्याग्दी, १७ माघ ।
जिल्लाको बेनी नगरपालिका–२ अर्जम सोलार गाउँका रुपमा विकसित हुन थालेको छ ।
दिनहुँ विद्युत्भार कटौती बढ्दै गएपछि बिजुलीको विकल्पमा अर्जम गाउँका बासिन्दा (सौर्य ऊर्जा) सोलारको प्रयोग गर्न थालेका हुन् । स्थानीय नवज्योति युवा क्लबको ५० प्रतिशत आर्थिक सहयोगमा १२ भोल्टको सोलार जडान गरिएको हो । तिहारमा देउसी भैली खेलेर सङ्कलन गरेको रकमले रकम सहयोग गरेको क्लबका सदस्य गोविन्द थापाले बताउनुभयो ।
“विद्युत्भारबाट मुक्त हुन सोलार जडान गर्ने क्रम बढेको छ” उहाँले भन्नुभयो । गाउँका प्रायः सबै घरधुरीमा सोलारको प्यानल देख्न पाइन्छ भने केही घरपरिवारले खाना पकाउन मिल्ने ठूला प्यानल सोलार सेटसमेत जडान गरेका छन् । सोलार जडानपछि उनीहरुलाई विद्युत्भार टौतीले कुनै प्रभाव पारेको छैन ।
जिल्लाको रत्नेचौरमा समेत सोलार जडान सुरु गरिएको छ । यस्तै बनेपा– १ र २ वडाका अधिकांश घरमा सोलार जडान गरिएको वडा नागरिक मञ्चका संयोजक बाबुराम बोगटीले जानकारी दिनुभयो ।