काठमाडौं, १५ माघ ।
नेपाली कांग्रेसको गाउँ तथा नगर वडाको अधिवेशन आज हुदैछ । आसन्न १३ औं महाधिवेशनका लागि सबै गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडामा एकैसाथ अधिवेशन हुने कांग्रेसले जनाएको छ ।
अधिवेशनमा सबै गाविस र नगर वडाबाट झण्डै एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी र सदस्य निर्वाचित हुने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
पार्टी संस्थापन र देउवा पक्षबिच गाउँ, नगर तहदेखि नै प्रतिष्पर्धा हुँदैछ । यसपटक सबै क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा राखिएकाले अन्य महाधिवेशनका तुलनामा केही सहज भएको सचिव पराजुलीले जानकारी दिनुभयो ।
यस्तै कांग्रेसको क्षेत्रीय अधिवेशन आगामी २२ गते र जिल्ला अधिवेशन २५ गते हुने निर्वाचन तालिका छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुनेछ ।