काठमाडौँ, ११ माघ ।
व्यवस्थापिका–संसद वातावरण समितिले वातावरणसँग सम्बन्धित रणनीतिक तथा कार्ययोजना तयार गर्न छ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको आजको बैठकले त्यसका लागि समितिका सदस्य पार्वत गुरुङ संयोजक रहनुभएको उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
एक महिना समयावधि तोकिएको उक्त समितिका सदस्यमा गणेशप्रसाद विमली, परशुराम तामाङ, छमबहादुर गुरुङ, कमला विश्वकर्मा र सीता ज्ञवाली रहनुभएको छ ।
यसअघि बैठकमा सदस्यहरुले संसदीय प्रणाली भएको मुलुकमा संसदीय समितिको गरिमा र प्रभावकारिता बढाउनेतर्फ सबै समितिसँग छलफल गरेर एकीकृत धारणा तयार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
समितिको काम कारबाही र मन्त्रालयको नीति तथा नियमसँग मेल नखाएको अवस्थालाई सच्याउन आवश्यक रहेको बताउँदै उहाँहरुले नीतिमा आउने तर नियममा नहुने समस्याले समितिको निर्देशन कार्यान्वयन हुन नसकेकाले त्यसलाई सच्याउनुपर्ने सुझाव दिनुभयो ।
वन व्यवस्थापनसँग वातावरणको साथै गरिबी न्यूनीकरणजस्ता कार्यक्रमलाई सँगसँगै लैजानुपर्छ भन्दै सदस्यहरुले समितिले दिएको निर्देशन मन्त्री र सरकारले नटेर्ने प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउनसक्ने रणनीतिक योजना बनाउन आवश्यक रहेको सुझाव दिनुभयो ।