काठमाडौँ, ८ माघ । विश्वको कुल जनसङ्ख्याको २३ प्रतिशत जनताको बासस्थान दक्षिण एसियाली मुलुकहरुमा गरिबी र अविकासजस्ता साझा समस्याहरुमा एकीकृत प्रयास अपरिहार्य भएको उद्योग–वाणिज्य क्षेत्रका जानकारहरुले बताएका छन् ।
विश्वका ५० प्रतिशत गरिब बस्ने दक्षिण एसियाली क्षेत्रले संसारको कुल गार्हस्थ्य उत्पादनमा मात्र तीन प्रतिशतले योगदान गरेको वर्तमान परिप्रेक्ष्यमा उक्त क्षेत्रमा उपलब्ध जनशक्ति, स्रोत र साधनको अधिकतम उपयोग गरी समग्र दक्षिण एसियालाई उन्नतिको मार्गमा अग्रसर गराउन सकिने उनीहरुको अभिमत छ ।
यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज यहाँ आयोजना गरेको ‘समुद्रदेखि हिमालयसम्म लगानीका सम्भावनाको खोजी ः नेपाल र बङ्गलादेशबीच व्यापार सम्बन्ध सुदृढीकरण’ विषयक कार्यशालामा आर्थिक रुपमा दक्षिण एसियाली मुलुकलाई एकीकरण गर्नुपर्नेमा पनि उनीहरुले जोड दिए ।
त्यस अवसरमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाल र बङ्गलादेशबीच व्यापारिक एवम् वाणिज्य सम्बन्ध सुदृढ गर्न सरकार क्रियाशील रहेको बताउँदै त्यस दिशामा निजी क्षेत्रबाट हुने हरप्रयासमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
बङ्गलादेशसँगको सबैभन्दा निकटको व्यापार मार्ग काँकडभिट्टा–पानीट्याङ्की–फूलबारी–बङ्गलाबन्धको सञ्चालनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उहाँले भन्नुभयो – “भारतका तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालले त्यसमा भारतले सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरे पनि हालसम्म उक्त नाका सहजरुपमा सञ्चालन हुन नसकेकामा दुःख छ ।”
उच्च प्रतिफल दिने तुलनात्मक लाभका जलविद्युत्, पर्यटन, कृषि, कृषि प्रशोधन, उत्पादन तथा सेवाका अन्य क्षेत्रमा बङ्गलादेशका लगानीकर्तालाई पुँजी लगाउन आह्वान गर्दैं उहाँले नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएकाले निःसङ्कोच नेपाललाई लगानी गन्तव्य बनाउन अनुरोध गर्नुभयो ।
बङ्गलादेशका वाणिज्य सचिव हेदितुल्लाह अल ममुनले नेपालसँगको व्यापारलाई आफ्नो मुलुकले उच्च प्राथमिकता दिएको बताउँदै व्यवधानरहित सडक सम्पर्कबाट दुबै देशलाई जोड्दा लक्ष्यित उपलब्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो । नाम उल्लेख नगरी उहाँले काँकडभिट्टा–पानीट्याङ्की–फूलबारी–बङ्गलाबन्ध मार्ग सञ्चालनमा जोड दिनुभयो ।
नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्टे शाम्सले विश्वका एकसयभन्दा बढी मुलुकमा आफ्नो देशले उत्पादन निर्यात गर्दै आएको तर नेपालसँग अत्यन्त न्यून मात्रामा व्यापार भइआएकाले पारस्परिक व्यापार वृद्धिका अवसरको खोजीका निम्ति कार्यशाला आयोजना गरिएको बताउनु भयो ।
बङ्गलादेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अब्दुल मतलब अहमदले बङ्गलादेशी व्यापारीलाई नेपालमा लगानी गर्न सहज कानुनी प्रावधानको व्यवस्था गर्न तथा प्रवेशाज्ञा शुल्कलगायत जटिलताको अन्त्यका लागि अनुरोध गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छाले नेपाल र बङ्गलादेशबीचको व्यापार निरन्तर घटिरहेकामा दुःख व्यक्त गर्दै दुवै देशका व्यापारिक प्रतिष्ठानबीच सहकार्य आवश्यक भएको बताउनु भयो ।