काठमाडौं, ८ माघ ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मधेसी मोर्चासँग भइरहेको वार्ता र सहमतिका लागि प्रधानमन्त्री केपी शर्मा ओली बाधक नबन्ने बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेसी मोर्चाको मागप्रति प्रधानमन्त्री पनि सकारात्मक भएको जिकीर गर्नुभयो ।
प्रचण्डले मधेसका समस्या समाधान गर्न मन्त्रिपरिषद्बाटै निर्णय भएकाले प्रधानमन्त्री ओलीलाई वार्ता बिरोधी भन्न नमिल्ने तर्क गर्नुभयो । अहिलेको आवश्यकता भनेको राष्ट्रिय सरकार भएको भन्दै प्रचण्डले एउटा सरकार जाने र अर्को सरकार आउँदैमा जारी समस्या समाधान नहुने पनि बताउनुभयो ।
यस्तै हिजो मोरङको रंगेलीमा भएको घटनालाई दुर्भाग्यपूर्ण भएको भन्दै उहाले यस्तो अवस्थामा सबैजना संयम भएर अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो । मधेसीका अधिकारका लागि समानुपातिक र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको प्रस्ताव संसदबाट पारित हुने पनि उहाको भनाई छ ।