पचास अर्ब लागतमा तराईमा विशेष सिँचाइ कार्यक्रम सञ्चालन हुने

पचास अर्ब लागतमा तराईमा विशेष सिँचाइ कार्यक्रम सञ्चालन हुने

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, ४ माघ ।

सरकारले तराई मधेसका आठ जिल्लालाई समेटेर ‘बहुवर्षीय तराई मधेस सिँचाइ विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

खडेरीका कारण सुख्खाप्रायः अवस्थामा रहेका ती जिल्लामा कृषि उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उद्देश्यका साथ बहुवर्षीय विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कार्यक्रमअन्तर्गत हरेक वर्ष रु १० अर्ब खर्च गर्ने सरकारको योजना रहेको छ । सिँचाइ मन्त्री उमेश यादवले बहुवर्षीय योजनाअन्तर्गत आगामी पाँच वर्षसम्म सो कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

हरेक वर्ष रु १० अर्बको दरले पाँच वर्षसम्म रु ५० अर्ब सो कार्यक्रममा खर्च गर्ने तयारी गरिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लामा प्रभावकारी एवम् वैज्ञानिक सिँचाइ प्रणालीको विकास गर्ने र कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारको रहेको मन्त्री यादवको भनाइ छ । कार्यक्रम सञ्चालन गर्न सिँचाइले अर्थ मन्त्रालयसँग छलफल गरिसकेको छ ।

मन्त्री यादवले भन्नुभयो, “सिँचाइको क्षेत्रमा नमुना परियोजनाका रुपमा ती जिल्लामा कार्यक्रम सञ्चालन गर्न अर्थ मन्त्रालयसँग छलफल भइसकेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सकारात्मक देखिनु भएको छ । आशा गराँै बजेट प्राप्त हुन्छ ।”

सुनकोसी– कमला डाइभर्सन सिँचाइ आयोजना हरेक आवको बजेट वक्तव्यमा छुटेको छैन । विसं २०२७ देखि सो आयोजना बजेट, नीति तथा कार्यक्रममा राखिएपनि हालसम्म अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार तराई मधेसका आठ जिल्लामा खडेरीका कारण धान उत्पादन घटेको छ । धान उत्पादन कम हुँदा खाद्य सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्नेछ ।

सप्तरीमा गत वर्ष ४० प्रतिशत क्षेत्रमा रोपाइँ भएकामा यस वर्ष २१ प्रतिशत, धनुषामा ३०, सर्लाहीमा २२, रौतहटमा ३५, बारामा ५५ र पर्सामा ६० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । खडेरीको मारमा परेका ती जिल्लामा योजनाबद्ध रुपमा स्यालो ट्युबवेल जडान गर्ने कार्यक्रम तराई मधेस सिँचाइ विशेष कार्यक्रममा समावेश गरिनेछ । आठ जिल्लामा हरेक वर्ष स्यालो ट्युबबेल जडान गर्ने कार्यक्रम अगाडि सारिन्छ । तर समस्या जस्ताको तस्तै रहने गरेको छ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने बाध्यता किसानका लागि सधैँ उस्तै छ ।

कृषि उपज उत्पादनमा कमी हुँदा आठ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ भने जमिन बाँझो राख्ने क्रम पनि बढ्दै गएको छ । तराईका आठ जिल्लामा पूर्ण रुपमा रोपाइँ हुन नसक्दा राज्यले प्रतिवर्ष रु १५ अर्ब बढीको नोक्सानी बेहोेर्नु परेको छ । कागजमा मात्रै सीमित स्यालो ट्युबबेल र सिँचाइ आयोजना वास्तविक रुपमा किसानको खेतसम्म नपुग्दा समस्या उत्पन्न भएको भन्दै आफूले योजनाबद्ध कृषि विकासको लागि सिँचाइको योजना अगाडि सारेको मन्त्री यादवले बताउनुभयो ।

दोस्रो जनआन्दोनपछिका सबै कार्यक्रमको अनुसन्धान गरिने
मन्त्रालयले दोस्रो जनआन्दोलनपछि हालसम्म सञ्चालन गरिएका सिँचाइ आयोजनाको सम्बन्धमा तथ्यसङ्गत छानबिन गर्ने भएको छ ।

“सिँचाइ आयोजना ‘जनताको खेतमा छ कि दलालको पेटमा’ छ सो को छानबिन गरिन्छ । राज्य कोषको दुरुपयोग कोही कसैले गर्न हुँदैन, पाइदैन”¬ मन्त्री यादवले भन्नुभयो । अधिकांश आयोजना कागजमा मात्रै रहेको, अख्तियारको दुरुपयोग भएको, जनताको काम नगर्ने, आर्थिक अपचलन गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसको छानबिन हुने र दोषीमाथि कारबाही गरिने उहाँले बताउनुभयो ।

छानबिन समिति गठन
मन्त्रालयले गण्डक, वाग्मती, सप्तरीको चन्द्र नहर र सुनसरी¬–मोरङको सिँचाइ आयोजनाको वर्तमान अवस्था, सुधारका उपायलगायत विषयमा स्थलगत अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

सिँचाइ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिएको सो समितिमा सिँचाइ मन्त्रालयका पूर्वसचिव शीतलबाबु रेग्मी र सिँचाइ विभागका पूर्व महानिर्देशक शिवकुमार शर्मा सदस्य हुनुहुन्छ । समितिलाई १५ दिनको समयसीमा प्रदान गरिएको छ । सो समयसीमाभित्र ती आयोजना सुधार गर्न के–के गर्न सकिन्छ भन्ने आवश्यक सुझाव समितिले दिने र कार्यान्वयनमा लैजाने मन्त्री यादवले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका अनुसार बर्सेनि चामल आयात बढ्दै गएको छ । आव २०७१÷७२ मा करिब रु १५ अर्बको चामल आयात भएको थियो भने चालु आवको हालसम्म पनि चामल आयातको मात्रा बढ्दै गएको छ । आयात प्रतिस्थापन गर्न पनि धान पकेट क्षेत्रको रुपमा रहेको तराईका आठ जिल्लामा प्रभावकारी रुपमा सिँचाइ आयोजना अगाडि बढाउनु आवश्यक देखिन्छ ।रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी