रत्ननगर , ४ माघ । जिल्लाको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रङ्गशालामा माघ १४ गतेदेखि २४ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ ।
रत्ननगर उद्योग वाणिज्य सङ्घ र रत्ननगर नगरपालिकाले सो महोत्सव आयोजना गर्न लागेका हुन् । महोत्सव मूल आयोजक समितिका संयोजक ज्ञानबहादुर विसुरालले महोत्सव ऊर्जा, कृषि र पर्यटन विशेष हुने र यसबाट करिब रु २५ लाख आम्दानी हुने जानकारी दिनु भयो ।
आम्दानीमध्ये हरेक टिकटको दुई रुपैयाँ बालश्रम न्यूनीकरणमा खर्च गरिने छ । महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन समेत प्रदर्शन गरिने छ । यस्तै महोत्सवमा सोलार पावर, सिँचाइ प्रविधि, बायो चुलो, बायो ग्यासका विभिन्न प्रविधि र सोलारबाटै पानी मिनरल गर्ने प्रविधि राखिने छ ।
महोत्सवकैबीचमा माघ २१ गतेदेखि २३ गतेसम्म अण्डा र मासु महोत्सव समेत आयोजना गरिने तथा ४२५ स्टल राखिने बताइएको छ । साढे चार लाख दर्शकले अवलोकन गर्ने सो महोत्सवमा रु २० करोडको कारोबार हुने अनुमान गरिएको छ ।