काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले देशको अन्न–पानी खाएर मुलुकमाथि नै बेइमानी गरेको आरोप लगाउनु भएको छ । नेपाल निजामती कर्मचारी संगठनका प्रतिनिधिहरुसँग आज आफ्नै सरकारी निवास बालुवाटारमा भएको भेटमा ओलीले खोक्रो देशभक्ति देखाएर मुलुकको ब्रह्मलुट गर्नेहरुका दिन अब सकिएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले मुलुक निर्माण, लोकतन्त्र स्थापना र जनताको सेवामा निजामती कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहरको भन्दै निष्पक्ष भएर जनताको सेवामा जुट्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले आफ्नो कर्तव्यप्रति सचेत रहन कर्मचारीलाई आग्रह गर्नुभयो ।
यसैविच एमाले भ्रातृ संगठन युवा संघले केपी ओली नेतृत्वको सरकार कालोबजारी र महंगी नियन्त्रण गर्न असफल भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी संघले भारतले गरेको नाकाबन्दीको मौका छोपेर दैनिक उपभोग्य वस्तु तथा इन्धनमा कालाबजारी र कृत्रिम अभाव खडा गरिएको भन्दै जिम्मेवार कर्मचारीहरु नै त्यसमा संलग्न रहेको प्रमाण आफूहरुसँग रहेको जनाएको हो । संघका अध्यक्ष राजीव पहारीले महंगी, कालाबजारी तथा कृत्रिम अभाव खडा गर्नेहरुमाथि सात दिनभित्र सरकारले कारबाही नगरे कडा आन्दोलनमा उत्रने बताउनु भयो ।
पेट्रोलियम पदार्थमा भैरहेको कालोबजारीमा नेपाल आयल निगमकै संलग्नता रहेको दरिलो प्रमाण आफूहरुले प्राप्त गरेको र नियन्त्रण गर्न सरकार र प्रहरी प्रशासनले गम्भीरता नदेखाएको उहाको भनाइ थियो ।
यस्तै, मन्त्रिपरिषदले निर्णय गरिसक्दा पनि भौतिक योजना मन्त्रालयले भारतीय प्रभावमा परेर गल्छी–केरुङ सडकखन्डको निर्माणकार्य अघि नबढाइ अल्झाइरहेको आरोप पनि युवा संघले लगाएको छ ।