वीरगन्ज, २२ पुस ।
बन्द, हडताल, नाकाबन्दी र विद्युत्भार कटौतीका कारण यस वर्ष ग्यास, गिजर र हिटरको व्यावसाय प्रभावित भएको छ ।
विगतमा यो समयमा ग्यासबाट चल्ने गिजर र हिटरको माग उच्च हुने गर्दथ्यो तर यो वर्ष माग अत्यन्त न्यून भएको व्यवसायीको भनाइ छ । विद्युतीय सामग्री बिक्री गर्ने व्यावसायीका अनुसार बढ्दो जाडो र चिसोका कारण पुस र माघ महिनालाई हिटर र गिजरको बिक्री हुने प्रमुख यामका रुपमा लिइने गरिन्छ । तर चर्को विद्युत्भार कटौतीले व्यापार नराम्रोसँग प्रभावित भएको छ ।
विद्युत् र ग्यासबाट चल्ने हेलोजन हिटर र विद्युतीय गिजरको बिक्री सामान्य रहेपनि ग्यासबाट चल्ने हिटर र गिजरको बिक्रीमा झन्डै ७५ प्रतिशतले कमी आएको छ भने व्यापारीले करोडौँको घाटा व्यहोर्नुपरको छ ।
झन्डै रु छ हजार तिरेर ग्यासबाट चल्ने गिजर खरिद गरेर लगे पनि ग्यासको अभावमा प्रयोग गर्न नपाएको वीरगन्ज नगवाका शिक्षक मनोज चौरसिया बताउनुहुन्छ । यस्तै बढ्दो चिसोका कारण वीरगन्ज रानीघाटकी रेखा पटेलले बजारबाट विद्युतीय हिटर किनेर ल्याउनुभएको छ तर चर्को विद्युत्भार कटौतीले चाहिएको बेला त्यसको प्रयोग गर्न नसकिएको उहाँको भनाइ छ ।
ग्यासबाट चल्ने गिजर र हिटरको माग अत्यन्त न्यून भएको घन्टाघरस्थित पेटल विद्युत् पसलका सञ्चालक राजेश पटेल बताउनुहुन्छ । “गत वर्षको तुलनामा यो वर्ष ग्यास र विद्युतीय हिटर र गिजरको बिक्री ह्वातै घटेको छ” उहाँले भन्नुभयो । बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र कम ग्यास खर्च हुने गिजर र हिटर खोज्ने धेरै रहेको उहाँले बताउनुभयो । अहिले रु दुई हजार ५०० देखि रु आठ हजारसम्मको गिजरको व्यापार भइरहेको छ ।
बन्दका कारण ढुवानी प्रभावित भएपछि गत वर्षको तुलनामा यस वर्ष गिजर र हिटरको मूल्यमा १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ । खुल्ला सिमानाका कारण अवैध रुपमा भारतीय कम्पनीका गिजर र हिटर वीरगन्जमा भित्रिने गरेका छन् ।