राजविराज, २१ पुष । सुरक्षा अवस्थालाई चुनौती दिदै सम्साझै यहा एक प्रहरीको गोली हानी हत्या भएपछि स्थानीय प्रशासनले मंगलवारदेखि सुरक्षा ब्यवस्था कडा वनाएको छ । नाका क्षेत्रहरुमा निगरानी, चेकजाँच र गस्तीकार्यलाई कडा वनाउदै प्रहरीले सुरक्षा सतर्कता र ब्यवस्था कडा वनाएको हो ।
सोमवार साझ साढे ६ वजे सप्तरीको झुटकी प्रहरी चौकीका ईन्चार्ज असई रमेस सुब्बाको भारतीय नम्वर प्लेट (नम्वर नखुलेको) भएको मोटरसाईकल चढि आएका २ जना अपरिचित ब्यक्तिले झौरा चौकमा गोली प्रहार गरी फरार भएपछि प्रहरीले उच्च सतर्कता अपनाउँदै सुरक्षा ब्यवस्था कडा पारेको हो । छाति र तिघ्रामा गोली लागेर गम्भिर घाईते भएका सुब्बाको स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारकै क्रममा राती ८ वजे मृत्यु भएको थियो ।
घटना लगत्तै ठुलो संख्यामा प्रहरी परिचालन गरी घटनास्थल र आसपासका गाविसलाई घेरामा लिई आक्रमणकारीको खोजी कार्य जारी रहेपनि अहिलेसम्म कसैलाई पक्रा गर्न नसकीएको प्रहरी उपरिक्षक भीम प्रसाद ढकालले वताए । यस्तै प्रहरी निरिक्षक सुरज खडकाले घटनाको अनुसन्धानले अपराधिको नजिक पुग्न लागेको र चाँडै पक्राउ गर्ने विश्वास ब्यक्त गरेका छन् ।
झापा जिल्ला भद्रपुर नगरपालिका १० निवासी ४० वर्षिय सुब्बाको सप्तरीको गोवरगाढा गाविस स्थित प्रहरी चौकीमा दरवन्दी भएपनि केहिदिन अघि मात्र काजमा झुटकी प्रहरी चौकीमा खटिएका थिए । साझ साढे ६ वजे चौकीवाट नजिकैको चौकमा एक्लै निस्केको वेला मोटरसाइकर्लमा आएको अज्ञात समुहले गोली हानेको थियो । मंगलवार सुपब्बाको शवको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम पश्चात आफन्तलाई वुझाईने तयारी भएको प्रहरी निरिक्षक खडकाले वताए ।
यता लामो समयदेखि तराई मधेशमा भुमिगत भई आन्दोलन गर्दै आएको अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय संयोजक जयकृष्ण गोईतले सो घटनाको जिम्मेवारी लिएका छन् । उनले संचारकर्मीहरुलाई फोन गरेर सरकारी पक्षवाट तराईमा हिंसात्मक गतिविधि, कालोवजारी तथा तस्करीलाई प्रोत्साहन गर्ने कार्य वढाईएकाले प्रतिकार स्वरुप सो कारवाही गरिएको जनाएका छन् ।
उनले आफुहरु रक्तपात नचाहेपनि राज्यले नै रक्तपातको श्रृंखला चलाएको आरोप समेत लगाएका छन् ।
