काठमाडौं, २१ पौष ।
विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये नेपाल पहिलो स्थानमा परेको छ ।
यो वर्षको भ्रमण गन्तव्यका लागि बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो ।
१० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ । वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको उल्लेख छ ।
ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ । नेपाली नागरिकको आत्मिय स्वागत तथा व्यवहार पनि नेपाली पर्यटन क्षेत्रको अर्को पक्ष रहेको जनाएको छ ।
हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ । रफ गाइडको १० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ ।
क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा छन् ।