काठमाडौं, १६ पुस ।
नेकपा माओवादीका नेता भरत बम ‘रणबीर’ ले आफुले डिसेम्बर २९ मा सामाजिक सञ्जाल फेुसबुकमा लेखेको स्टाटसलाई लिएर केही सञ्चार माध्यामले तथ्य बङ्ग्याई भ्रमात्मक समाचार सम्प्रेषण गरेको भन्दै त्यसको खण्डन गरेका छन् ।
नेकपा माओवादीका पोलीटव्यरो सदस्य एवं भेरी कर्णली राज्य इन्चार्ज समेत रहेका नेता रणबीरले भने, “अहिलेको सङ्कटको सबैले बिकल्प र निकास खोजिरहेका छन् तर यो देशका दलाल शासक र तिनका मालिकहरु सेनालाई सक्रिय बनाएर राजतन्त्र फर्काउने रणनीति कार्यन्वयन गर्नमा लागेका छन् ।”
नेता बमले केही सञ्चारमाध्यामले माओवादीका सकारात्मक भन्दा नकारात्मक समाचार खोज्ने र सम्प्रेषण गर्ने काम गरिरहेको बताउँदै यसरी तथ्यलाई नबङ्ग्याउन आग्रह गरे ।
आफ्नो पार्टीको एकता र प्रगति देखेर नक्कली माओवादीहरु ईष्या र डाहाले जलेको भन्दै उनले तिनीहरुले आफुहरुकाबारे नकारात्मक भ्रम छर्ने काम गरेका आरोप लगाए ।
नेता बमले बर्तमान संकट बहुदलीय संसदीय व्यवस्था असफलताको परिणाम भएको ठोकुवा गर्दै यस्तो बेला विभिन्न शक्तिकेन्द्रहरुले आआफ्नै दाउपेच चालेको बताए । त्यो दाउपेचमा नेपाली सेनालाई सक्रिय पारेर राजतन्त्र फर्काउने योजना विदेशी शक्ति केन्द्रहरुको रहेको उनको भनाइ छ ।
त्यस्तै संसदवादी दलहरुले विदेशी बलमा उपनिवेशवाद ल्याउने र उत्कर्षमा विदेशी सेना ल्याउने र राजतन्त्र फर्काउन सेना सक्रिय पार्ने लाइन रहेको उनले बताएका छन् ।
नेता बमले यी कसरतहरुलाई रोक्न जनमुक्ति सेना निर्माण गरेर जनवादी क्रान्ति गर्ने सोचिरहेको बताए । साथै माओवादीले नेपाली सेनासँग संयुक्त मोर्चा बनाएर उपनिवेशवाद र राजतन्त्रको पुनरागमनका सम्भावनाहरुलाई रोकेर देशलाई मुक्त पार्ने लाईन लिनुपर्ने सुझाव बमले दिएका छन् ।
तर, केही अनलाइनहरुले पहिलो बुदालाई नबुझेरै तथ्य बङ्ग्याएर नेकपा माओवादीका नेता भरत बमले राजतन्त्र पुनस्थापना बर्तमान समस्याको एक विकल्प हुनसक्ने टिप्पणी गरेका र सैनिक शासनलाई अर्को विकल्पको रुपमा प्रस्तुत गरेको भन्दै समाचार प्रकाशन गरेका थिए ।
आज डिसेम्बर ३१ मा पुनः नेता रणबीरले अघिल्लो स्टाटसबारे प्रष्ट पार्दै कस्को लाईन के हो ? भनेर प्रष्ट्याएका छन ।