काठमाडौ १३ पौष ।
सडक छेउ फुटपाथमा पसल राख्न दिनुपर्ने माग राख्दै ललितपूरका व्यवसायीहरुले आज विरोध सभा गरेका छन् ।
सरकारले वैकल्पिक व्यवस्था बिना नै सडक छेउमा व्यापार व्यावसायी गर्नेहरुलाई विस्थापित गरिएको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट संयुक्त उद्योग व्यापार यातायात महासंघको आयोजनामा आज ललितपूरको लगनखेलमा विरोध सभा भएको हो ।
विरोध सभामा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य उक्तम बिष्टले सरकारले कुनै वैकल्पिक व्यवस्था बिना नै फुटपाथबाट व्यवसायीलाई हटाउनु गलत भएको भन्दै कुनै व्यवस्था नभएसम्म व्यापारीहरुलाई फुटपाथमा पसल राख्न दिनुपर्ने बताउनुभयो ।
महासंघ काठमाडौ जिल्ला शाखाकी उपाध्यक्ष देवाकी खरेलले सरकारले जनताको रोजीरोटी खोसिने गरि सडकबाट व्यापारीलाई हटाउनु गलत भएको बताउनु भयो ।
सभामा बोल्दै महासंघ ललितपूर जिल्ला शाखा संयोजक मोहन शिवाकोटीले आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनु भयो ।
वैकल्पिक व्यवस्था नभएसम्म सडक छेउमा व्यापार गर्ने व्यापारीलाई निश्चित क्षेत्र तोकेर निर्धारित समयसम्म व्यापार व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।
