बनेपा, ६ पुस ।
काभ्रेपलाञ्चोकको तरकारी खेतीमा विषादीको खपत घटदै गएको छ ।
अघिल्लो वर्ष ४६ मेट्रिक टन विषादीको खपत भएको जिल्लामा अहिले घटेर ४० मेट्रिक टन पुगेको छ । प्रयोग हुने विषादीमध्ये सबैभन्दा बढी ढुसीनाशक विषादी तरकारी बालीमा प्रयोग हुने गरेको छ । “किटनाशक विषादी २४ प्रतिशत मात्रै प्रयोग भएको पाइयो” बाली संरक्षण अधिकृत देवराज अधिकारीले भन्नुभयो ।
अहिले ढुसीनाशक विषादी जिल्लामा ७१ प्रतिशत मात्रै तरकारी बालीमा प्रयोग भएको उहाँको भनाइ छ । किटनाशकभन्दा ढुसीनाशक विषादी स्वास्थ्यका दृष्टिले कम असर गर्ने हुन्छ । विषादीकाबारेमा कृषक र उपभोक्ता दुवै सचेत भएका छन् । जैविक विषादीको प्रयोग बढेका कारणले रासायनिक विषादीको प्रयोग कम हँुदै गएको अधिकारी बताउनुहुन्छ ।
कृषकले गोलभेँडा, आलु, काउलीलगायत तरकारी बालीमा ढुसीनाशक विषादी बढी प्रयोग गरेका कारण यसको खपत पनि बढेको हो । जिल्लामा किटनाशक विषादीको रुपमा साइपर मेथिन, नोभानलगायत र ढुसीनाशक विषादीका रुपमा डाएथेन एम ४५, किरनोशल गोल्ड, बेवस्टिनलगायत विषादी कृषकले प्रयोग गर्दै आएका छन् ।
पछिल्लो समय व्यावसायिक तरकारी उत्पादन क्षेत्र बढ्दै गएको र प्राङ्गारिक खेती, आइपिएम खेतीको विस्तार भएकाले रासायनिक विषादी घट्दै गएको अधिकारीले बताउनुभयो । तरकारीको पकेटक्षेत्र मानिने पाँचखाल, महादेवस्थान, कुशादेवी, भकुण्डे, उग्रचण्डीनालालगायत क्षेत्रको तरकारीमा रासायनिक विषादी बढी प्रयोग भएको प्रयोगशालाले देखाएको थियो । तर अहिले ती क्षेत्रबाट उत्पादन हुने तरकारीको उत्पादनमा जैविक र वानस्पतिक विषादीको प्रयोग बढी देखिन थालेको छ ।
जैविक विषादीको प्रयोग बढेपछि विषादीको बिक्री, वितरण हँुदै आएका एग्रोभेटमा पनि रासायनिक विषादीको बिक्रीे घटेको एग्रोभेटका सञ्चालकले बताएका छन् । “कृषकले विषादीको प्रयोग गरेपछि पर्खने समयको समेत ख्याल गर्न थालेका छन्” किसान एग्रोभेट धुलिखेलका सञ्चालक माधव पोखरेलले भन्नुभयो ।