इन्धन अभावले गोरखामा सडक निर्माणको काम ठप्प

इन्धन अभावले गोरखामा सडक निर्माणको काम ठप्प

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

गोरखा, ३ पुस ।

भारतले गरेको नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव हुँदा गोरखामा विकास, निर्माणको काम ठप्प भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना र अन्य क्षेत्रमा निर्माणाधीन विकास निर्माणको काम ठप्प भएको हो । मध्यपहाडी लोकमार्गको गोरखामा पर्ने ५३ किलोमिटर सडक निर्माणको काम दुई महिनादेखि ठप्प छ । धादिङ, लमजुङ खण्डको कामसमेत रोकिएको आयोजना प्रमुख सूर्य भाटले जानकारी दिनुभयो ।

इन्धन अभावले गर्दा आरुघाटदेखि ओख्लेसम्मको १३ किमी सडक चौडा बनाउने, नाली, टेवा पर्खाल लगाउने, कल्भर्ट बनाउने र कालोपत्रको काम अघि बढाउन नसकिएको हो । डेढ वर्षभित्र कालोपत्र गरिसक्ने तयारी गरिए पनि नाकाबन्दीले गर्दा काम प्रभावित भएको छ । ओख्ले, घ्याम्पेसाल, निमेल, खहरेखण्डको १६ किलोमिटर कालोपत्रका लागि बोलपत्र प्रक्रिया भएर सम्झौता भइसकेको छ ।

पालुङ्टार हुँदै लम्जुङको पाउँदीसम्मको काम पनि ठेक्का प्रक्रिया सकेर निर्माणको चरणमा पुगे पनि इन्धन अभावले रोकिएको छ । ठाँटीपोखरीदेखि पाउँदीसम्मको १७ किलोमिटर खण्ड कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया पूरा भएको थियो ।

त्यस्तै इन्धन अभावले गोरखा–आरुघाट सडक, बाह्रकिलो भालुस्वाँरा सडक, घ्याम्पेसाल–सौरपानी सडक र लुइँटेल–हर्मी सडक कालोपत्रको काम रोकिएको हो । एघारकिलो–भालुस्वाँरा– बारपाक सडक योजना कार्यालयले चोरकाटेदेखि १० किलोमिटर सडकखण्ड कालोपत्र गर्ने काम रोकिएको सडक आयोजना कार्यालयका प्रमुख प्रेम खत्रीले बताउनुभयो ।

चार किमी कालोपत्रका लागि काम सुरु भइसकेको थियो । एसियाली विकास बैँकले कालोपत्र गर्न लागेको घ्याम्पेसाल–सौरपानी सडकको २० किलोमिटर सडकखण्डको काम पनि अघि बढ्न सकेको छैन । लुइँटेल, हर्मी, भच्चेक सडकको ३७ किलोमिटर सडक कालोपत्र गर्ने प्रक्रिया पनि सुरु भए पनि काम अघि बढेको छैन ।

आरुघाट, आर्खेत, सोती सडकको १० किमी सडकको नाली खन्ने, चौडा फराकिलो बनाउने, लेभल तथा ग्रेडिङ मिलाउने र ग्राभेल गर्ने काम पनि रोकिएको आयोजना प्रमुख खत्रीले बताउनुभयो । निर्माणको काम सुरु भएको अँबुवादेखि बिर्दी, सेरा, पौवाटार, तुरतुरे सडक स्तरोन्नतिको काम र गुम्दाबाट यमगाउँ, माछाखोला सडकको नयाँ ट्र्याक खोल्ने, छेकम्पार, नल्याङ भञ्ज्याङ सडक निर्माणको काम पनि रोकिएको छ ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले विकास, निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन जिल्ला भित्रिएकोमध्ये केही मात्रामा इन्धन सडक निर्माण कम्पनीलाई दिइने बताउनुभयो । “विकास निर्माणको काम रोक्नु हुँदैन” उहाँले भन्नुभयो – “माग भएजति डिजेल÷पेट्रोल दिन नसके पनि केही मात्रामा दिन सक्छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी