म्याग्दी, ३ पुस ।
असडक, सञ्चार र अत्यावश्यक सुविधाको सहज पहुँच नपुगेको गुर्जा कृषि, पशुपालन, जडीबुटी र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेर पनि त्यसको उपयोग हुन सकेको छैन ।
मुलुककै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षले समेत समेटिएको गुर्जा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ । अहिले ढोरपाटन क्षेत्रमा आउने विदेशी पर्यटक थोरै मात्रामा गुर्जा पुग्ने गर्छन् । तर आवश्यक प्रचारप्रसार र पूर्वाधार तयार गर्न सके गुर्जाको मुहार पर्यटनबाट फेर्न सकिने स्थानीयवासी कमल छन्त्यालले बताउनुभयो ।
पर्यटनका लागि गुर्जा–ढोरपाटन, गुर्जा–मुदी, गुर्जा–चुरेन हिमाल बेस क्याप र लुलाङ हुँदै गुर्जा पुग्ने पदमार्गको मर्मतसम्भार आवश्यक रहेको उहाँको भनाइ छ । गुर्जासँग सिमाना जोडिएको रुकुम र डोल्पा निस्कने पदमार्ग निर्माण गर्न सके गुर्जा पर्यटन क्षेत्रबाटै आर्थिक समृद्धितर्पm लम्कन सक्ने जानकारहरू बताउँछन् । परम्परगत रूपमा गरिँदै आइएको साहसिक भिर माहुरीको सिकार पर्यटकका लागि थप आकर्षण हो ।
यस क्षेत्रका जङ्गलमा बाघ, भालु, नाउर, झारल, घोरल, कस्तुरी, रतुवा, बाँदरलगायतका जनावर र डाँफे, मुनाल, कालिजजस्ता चराचुरुङ्गीसमेत प्रशस्त पाइने गर्छ । प्रचुर पर्यटकीय सम्भावना बोके पनि यस क्षेत्रको बारेमा आवश्यक प्रचारप्रसारको कमी र पदमार्ग, पुललगायतका पूर्वाधार तथा सुविधाको अभावले गुर्जाको पर्यटन विकासमा चुनौती देखिन्छ ।
पर्यटनसँगै पशुपालन, कृषि र जडीबुटीको सम्भावनायुक्त क्षेत्र गुर्जामा परम्परागत रूपमा गरिँदै आइएको कृषि र पशुपालनलाई आधुनिकीकरण गर्दै व्यवस्थित जडीबुटी सङ्कलन गर्न सकेमा मात्रै स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने जनकल्याण माविका अध्यक्ष गुनराम छन्त्यालले बताउनुभयो । गुर्जामा ठूलो मात्रामा आलु उत्पादन हुने भए पनि खच्चडमार्फत ढुवानी गर्दा महँगो हुने भएकाले बजारीकरणमा समस्या छ । यहाँ मकै र फापरखेतीसमेत राम्रो उत्पादन हुने गर्छ ।
उच्च हिमाली क्षेत्र भएकाले गुर्जा बहुमूल्य जडीबुटीको खानीका रूपमा समेत चिनिन्छ । यार्सागुम्बा, सतुवा, कुतकी, पाँचऔँले, निरमसी, बिखमा, अत्तिस, सुगन्धवाल, चुल्ठे अमिलोलगायतका जडीबुटीको व्यवस्थित उत्खनन गर्न सके स्थानीयवासीको आयस्तर वृद्धि हुनुका साथै राजस्व सङ्कलनमा समेत ठूलो योगदान दिन सक्छ ।
स्थानीयवासीका अनुसार हिमालको फेदीमा पाइने बहुमूल्य क्वाच ढुङ्गाको उत्खनन गर्न सके यसले मुलुककै आर्थिक विकासमा सहयोग पुग्ने सम्भावना रहेको छ । धौलागिरि, गुर्जा, चुरेन र पुथा हिमालले घेरिएको गुर्जा एक गाउँ एक गाविसका रूपमा चिनिन्छ ।
सदरमुकाम बेनीदेखि तीन दिनको यात्रामा पुगिने गुर्जा जिल्लाकै सबैभन्दा दुर्गम गाविसका रूपमा चिनिन्छ । दुर्गम भए पनि उच्च सम्भावना बोकेको गुर्जाका बासिन्दा सरोकारवाला निकायको बेवास्ताका कारण अनेक दुःख, कष्ठ र समस्यामा छन् ।