काठमाडौँ, १ पुस ।
नेपाल निर्माण व्यवसायी महासंघले देशभरिका सम्पूर्ण निर्माण योजनाको म्याद एक वर्ष थप्न माग गरेको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष शरदकुमार गौचनले भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य रोकिएको भन्दै म्याद थप्न माग गर्नु भएको हो ।
उहाँले नाकाबन्दी र तराईमा भइरहेको आन्दोलनका कारण निर्माण व्यवसायीले व्यहोर्नु परेको क्षतिपूर्ति र मूल्यवृद्धिको रकम उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो ।
आन्दोलन र नाकाबन्दीका कारण निर्माण क्षेत्रमा हालसम्म झण्डै रु १५ अर्ब बराबरको क्षति भएको महासङ्घले आँकलन गरेको छ । निर्माण कार्य बन्द भए पनि बैंकको व्याज र हर्जना बुझाइरहनु परेको र लागत अनुमान बढ्न गएकातर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ ।
निजी निर्माण कार्यसमेत अनिवार्य रुपमा इजाजतपत्र प्राप्त निर्माण व्यवसायीबाट मात्र गराई भूकम्प प्रतिरोधात्मक निर्माणका लागि आवश्यक कानुनी व्यवस्था गर्न पनि महासंघले सरकारलाई सुझाव दिएको छ ।