हाम्रो माया : जिन्दावाद

हाम्रो माया : जिन्दावाद

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

मलाई थाहा थियो । धेरै दिनदेखि यो नामले मलाई पिछा गरिरहेको छ । मेरा प्रत्येक स्टाट्सहरुमा लाईकमात्र होइन अलि अस्वभाविक लाग्ने कमेन्ट पनि आउँथे । भारी प्रशंसाका । भारी उत्तेजनाका । मानौँ म कुनै नामी लेखक हुँ या भनौँ न म कुनै चर्चित सेलिब्रिटी हुँ । बेला बेला मेरो आदर्श भन्थी । यस अघि म यस्तै केटीका नामबाट हैरान गरी झुकिएको थिएँ । नराम्ररी उल्लु बनाई मागेको थिएँ । स्थिती कती सम्म भो भने वास्तविकै हो भनेर टाढै भेट्न पनि गएँ । पछी था भो यस्तो काम त चिनेकै सिल्ली साथीहरुको गतीलो व्यवसाय पो रहेछ । केटीका नामबाट आइडी बनायो दुनीयाँलाई तनाव दियो । तर यसपाली किनकिन मलाई भित्री मनैदेखि यो नाम प्रति विस्तारै भरोसा जाग्दै थियो । निकै वर्षदेखि खाली थिएँ । उमेर पाकेको थियो तर जीवनले अझै घरजम ताकेको थिएन ।
एकदिन अनलाईनमै उसले लामो म्यासेज पठाई । जुनपुरै अंग्रेजीमा थियो । उसका ंयस अघिका कुरा बाटनै उ संग विलक्षण प्रतिभा छ जस्तो लाग्थ्यो । ठिक यसपाली त मन छोयो उसको कुराले । भनेकी थिई हजुरलाई था छ ? जब मैलेँ पहिलो पटक हजुरलाई देखेँ नी नजीक जान र कुरै गर्न डराएँ । जब हजुरसँग बोलचाल भो कुराकानी गरेँ हजुरलाई मन पराउन डराएँ । जब मन पराएँ प्रेम गर्न डराएँ । जब आजभोली मैलेँ एकतर्फी हजुरलाई माया गरीरहेकी छु हजुरको प्रेममा परेकी छु फेरी पनि डरारहेकी छु किन था छ ? पाउँदिन कि भनेर । गुमाउँछु कि भनेर ।
यो मेरो लागी हजारौँ भोल्टको इमोशनल ब्याल्क मेल थियो । निकै तातिएको भाँडोमा पानीको थोपा खसाए झैं भएको थियो उसको कुराले मेरो मन । तर म जति हौसिएं उत्ति नै ख्रिसिक् भएँ । सोचें कसैले फेरी मलाई उल्लु त बनाउँदै छैन ?
उसकै भाषामा जवाफ फर्काएँ । भो धेरै नझुक्याऊ । यदि तिमी भनेकै तिमी हौ भने पाँच मिनेट भित्र यो नम्बरमा फोन गर । नत्र भने तिमीलाई कानुनी उपचार गर्नुपर्ने भो…. । पठाई सकेपछी अलि रुखो भाषा भोकी भनी चिन्तीत पनि भएँ । मनमा लाग्दै थियो यो कुनै पनि हालतमा फेक आईडी नभईदेओस । पर्खाई मै चार मिनेट बित्यो । अहं फोन आएन । सेकेन्ड पनि गन्न थालेँ । ३०, ३१ हुँदै पचास पुग्न थाल्यो । ठिक पाँच मिनेट बित्दा नबित्दै नयाँ नम्बरबाट फोन आयो । मेरो शंकाले फेल खायो । ऊ केटी नै थिई । केटी मात्र होइन ऊ मलाई मन पराउने मान्छे थिई । लामो कुरा भयो ।
उसले सात कक्षा पढ्दा देखि नै मन पराएकि रे । शुरुमा मेरो भाषण मन प¥यो रे । जब भाषण मन पराई त्यसपछी मेरा सबथोक मन पर्न थाले रे । त्यै भएरै मैलेँ बनाको संगठनमा बसेकी रे । विचारले होइन हजुरका कारणले माओवादी भएँ । भन्दै थिई म त नक्कली माओवादी । हजुरकी माओवादी । म कस्तो बुद्धु म सँग त उसले हात मिलाउन पनि भ्याई हालिछ । यो राजनिती पनि कस्तो कस्तो । सयौँ सँग हात मिल्छन् । हजारौँ सँग विचार मिल्छ । तर एक्लै ंिहड्नु पर्छ मनको जंगलमा । भन्दै थिई म एस. एल. सी. मा छात्रा तर्फ जिल्ला प्रथम हुँदा सम्मान कार्यक्रममा जि.शि.अ. सँगै हजुर पनि आउनु भाथ्यो । मंच बाट नाम आयो । सबैले माला र टिका लगाई दिए । हजुरको हात बाट पनि लगाएँ । अरु त कसैले मिलाएनन् हात तर हजुरले त नामै बोलाएर कसक्कै हात मिलाउँदा लाजले भुतुक्कै भएकी थिएँ ।
उसका लाडीएका मायालु कुराले म गलीसकेको थिएँ । पाकीसकेको थिएँ । झरीसकेको थिएँ । अब भेटिने दिन पनि उसैले तोकी र भनी हाम्रो पहिलो भेट स्पेशल बनाउनु पर्छ । हजुरका पुराना प्रेमकहानी सुन्नुु पर्छ । जसरी पनि तयार हुनु नी फेरी…..जब उसले मेरा पूर्वप्रेम सुन्ने भई मैलेँ पनि दबिएरै रहेका घाउका प्रेमिल पाप्राहरु विस्तारै उप्काएँ ।
ऊ भाउजुकी बहिनी थिई । उसैपनि साइनोमा सोल्टीनी पो त ! भेट्दा त्यसै जिस्किन्थ्यौँ । सानोमा सँगै पढ्यौँ । सँगै हुर्कियौँ । जब उ ठूल्ी हुँदै गई सबैले मन पराउन थाले । उ सुन्दर देखिन्थी । ऊ म भन्दा ठूली थिई । मेरी दिदि सँग पढ्थी । उठ्दा, बस्दा, हाँस्दा, खेल्दा, म पूरै उसको पिछा गरिरहन्थेँ । मनमनै लाज लाग्थ्यो, हेर्दा म उसको भाई जस्तो थिएँ तर मायामा भने जोखिमै मोल्न पछी परेको थिईन । सानोमा खुब मिल्ने हामी विस्तारै मेरो संगत उसलाई मन पर्न छोड्यो । पूरै हप्काउँथी । जे कुरामा पनि दबाउँथी । मिठा कुरा गर्दा पनि रिसाउँथी । खुशी बनाउन अनेक तिकडम गरेँ अहं पट्टिने कुनै सुरसार देखाईन । अच्चम्म लाग्यो । के म त्यति नराम्रो छु र ? सयौँपल्ट ऐना हेर्न थालेँ । अलि ठूलो भएको देखाउन कपाल मिलाउन थालेँ । गोजीमा काईँयो राख्न थालेँ । बुवाबाट रोएरै पैसा मागेर पर्स किनेँ । कागज कोचेर ठूलो बनाएँ । घाँटीमा उसकै नामको शुरुको अक्षर राखेको माला भिरेँ । हातमा सुहाउने डोरी बाँधेँ । सधैँ चिटिक्क परेर स्कूल जान थालेँ । अहं यि सबै प्रयासहरु बालुवामा पोखिए । मेरा जुतिmले मायामा मुतिm नभेटेपछि यसो साथीहरु सँग हात हेराई मागेँ । पचास रुपैयाँको कमाल हो या के ज्योतिषले पनि आशा देखाए । जे गरेपनि अन्तिममा त्यो तिम्रै हो तर आजभोली अर्कै केटाले फकाउँदै रैछ । हतार नगर एकदिन आफै सम्बन्ध सुध्रिन्छ ।
यत्ति भनीसकेपछी त कुरा खलास हुनुपर्ने तर भएन । मनमा खुल्दुली मच्चियो को हो हँ त्यो ? उसको पछी लाग्ने हिम्मत गर्ने ? चियो गर्न थालेँ । हरेक दिन स्कूल जाँदा आउँदा उसलाई बोलाउने, जिस्काउने, हेर्ने त थुप्रै थिए । उ त त्यसै पनि राम्री थिई । अब कसलाई शंका गर्ने ?
एकजना भर्खरको सर थियो । एस. एल. सी. दिने बित्तिकै पढाउन थालेको थियो । उ नौ मा पढ्थी भने म आठमा । हामीलाई जनसंख्या पढाउँथ्यो भने उनीहरुलाई पढाउदैन्थ्यो । हेर्दा राम्रै थियो । अलि अलि शंका थियो तर गतीलो प्रमाण फेला परेको थिएन । मान्छेको जीवनमा के आईपर्छ के था ? झन प्रेमको यात्रामा काँडे तर झार त कति हो कति । ज्योतिषले शंका गर्ने ठाउँ देकै थ्यो । को होला त्यो ? थापाउन मात्रै टाउकै फुटाईदिन्छु । मनमनै कल्पना गर्थेँ ….त्यो केटालाई त्यसकै अघि लिएरै झापड दिन्छु अनि भन्छु बुझीस ऊ मेरी हो मेरी । हेरी भने आँखा तानीदिन्छु । बोली भने मुख थुतीदिन्छु । सँगै हिडे खुट्टा भाँचिदिन्छु । दिनदिनै घोक्थेँ यो डाइलग कहिले राजेश हमालको स्टाइलमा त कहिले दिलिप रायमाझीको । कहिले श्रीकृष्णको । यसरी डाइलग त घोकियो तर उसको पिछा गर्ने को हो वास्तवमै पत्ता लागेन ।
मेलाका दिनहरु आउन थाले । मन त्यसै त्यसै चङ्गा हुन थाल्यो । किन हो उसले पनि पछी पछी त राम्ररी बोलाउन थाली । कुरा गर्न थाली । कहिले मन पराए जस्तो पनि गर्थी । कहिले हाँसी दिन्थी त्यसै । म पनि हेर्दा ठूलै देखिन थालेँ । एकदिन जिस्केरै नापियौँ । ओहो उ र म त बराबरै रैछौँ । खुशी लाग्यो हिम्मत बढ्यो । घर देखि टाढाको मेला थियो, उसले सँगै जाने प्रस्तव गरी । मेरो भुईमा खुट्टै थिएन । हाम्रो घरबाट बदाम बेच्न लिन्थे । सँगै फर्किने सल्ला भो । पैसाको जोहो गर्न बुवासँग बदाम बेची लागेँ । केही सय जिप्ट्याई सकेको थिएँ । उसलाई केही त खुवाउनै प¥यो । जानै आँटेको थिएँ उ हाँस्दै बदाम बेच्ने ठाउँ आई । लाज त त्यतिबेला लाग्यो जब उसले एकमानाको कती हो भनी सोधी । नजीकै बुवा थिए साउजी बन्नुको विकल्प थिएन । तिन माना मागेकी थिई पाँच माना खन्याई दिएँ । दुई माना मेरो मायाको बोनस थियो ।
केही समय पछी म पनि मेला घुम्न निस्किएँ । एकछिन भलिबल म्याच हेरेँ । त्यसपछी अलिपर स्यारङ्गे नाच हेरेँ । हाम्रै गाउँका दाईहरुको झाप्रे नाच हेरियो । खुब रमाईलो भो । अब मेरा आँखाले उसलाई खोजीरहेका थिए । त्यहाँ कतै पनि देखिन । साँझ पर्न थाल्यो । घर सँगै फर्किने कुरा थियो । जताततै खोजेँ । अलि माथि एउटा ठूलो चौर थियो । बरपिपल, धारो र मन्दिर थियो । हत्तारिएरै गएँ । शंका मिल्यो । मन्दिर छेऊमै रैछे । जब मैलेँ देखेँ मेरा आँखा तिरमिराउन थाले । जताततै अँध्यारो मात्र देखेँ । ऊ त त्यै सर सँग मस्की मस्की बदाम खाँदै पो रैछे । मेरै मायाका बोनस बदाम । उफ…एकछिन त सोचेँ टाढै बाट ढुङ्गाले हानेर टाउकै फुटाईदिऊँ । अर्कोमनले भन्यो जाउँ कि क्या हो नजीकै अनि भनुँ कि क्या हो नमस्कार सर । एकछिन हेर्न मन लाग्यो । जान्न मन लाग्यो के के गर्छन । हेर्दा हेदै घिन लाग्यो झरेँ मेला तिर । मनमा सारा कुरा नाच्न थाले । रित्तो मन र शून्य दिमागका साथ घर फर्किएँ । भोलीपल्ट स्कूल जानै मन लागेन । अरु स्कूल जाउँ बर्षमा मध्यमा त्यो संभव थिएन । एक हप्ता पछी मन नलगाई नलगाई स्कूल जान थालेँ ।
जिल्ला स्तरिय परीक्षा दिएँ । पढाईमा राम्रै थिएँ् । अर्को वर्ष यो स्कूल पढ्दिन भनेर सबलाई भनीसकेको थिएँ । साथीभाई सरहरुले नछोड्ने सल्लाह दिन्थे म के हो के भनेर टारीदिन्थेँ । जब रिजल्ट आयो त्यति खुशी त म कहिल्यै भईन । म प्रथम भएको थिएँ । ऊ फेल भएकि थिई । त्यो सरले अब हामीलाई नपढाउने भो । खुशी त म उ सँगै पढ्न पाउने अवसरले भएको थिएँ । रिस थियो मनमा, त्यो भन्दा माया थियो । पाउने आशा टुटिसकेको थिएन । एउटै कक्षामा पढ्ने भएपछी पहिलाको भन्दा बढी हिमचिम हुने नै भयो । विस्तारै नजीक हुँदै थियौँ त्यै बेला त्यो सर पढ्न गयो । अब म उसको एक्लो हकदार भएको थिएँ ।
साँच्ची एस.एल.सी.दिँदा सम्म हामी साँचो मायामा डुबिसकेका थियौँ । वर्षौँ वर्षको मेरो प्रयास, मेरो धर्यता, मेरो आस्था सफल भएको थियो । हामी खुशीसाथ मायाको विचरण गरिरहेका थियौँ । जब सँगसँगै प्लस टु पास ग¥यौँ उसले विहेको लागि दवाव दिन थाली । तर म भने पढीसकेर आफ्नै खुट्टामा उभिएर मात्र विहे गर्ने आदर्शमा थिएँ । मेरो कुरा उसलाई मन परेन । किन किन उ म देखि टाढिन खोजी । हामीले मायाको दुईतिन वर्षे यात्रामा सबै भोगीसकेका थियौँ । मैलेँ उसलाई चिन्न, बुझ्न बाँकि केही थिएन । उसले पनि मलाई सबै तरहले जानी भोगी सकेकी थिई । हरदिन उस्तै, हरपल उस्तै । खाली गन्थन गरे जस्तो मात्र लाग्ने । मायामा नयाँपन हराएपछी मर्दै जाँदो रैछ क्यारे । विस्तारै हामी टाढा हुँदै थियौँ । एकदिन मलाई सोधेरै दश वर्ष जेठो शिक्षक सँग विहे गरी । मैलेँ जोडी मिलेन भन्दा झन दुखी देखेन्थी । आजभोली भेट हुँदा विहे गर्न कर गर्छे । भन्छे तिमी एक्लै भएको हेर्न सक्दिन ।

यतिन्जेल पार्क सुनसान भईसकेछ । अघिसम्म तिन चार जोडी देखिन्थे, कतिबेला गईसकेछन । जाडो बढिरहेको थियो । घाम डुब्दैथ्यो । शिशु, आज यत्ति है । किस्ता किस्तामा सुनाउँछु ल..हवस भन्ने मनोभावमा टाउको हल्लाई । रुन्चे अनुहार लाएर हेरीरही एकछिन सम्म अनि विस्तारै ओठ जोडी । खै यो माया पनि कस्तो कस्तो । एकहप्ता भएको थिएन जोडिएको तर ज्यानै जाला अहिले छोड्ने मन छैन । जुगौँ जुग सँगै बाँच्ने मन छ । उसले छोड्दा सोच्थेँ खै कहाँ भेटुला र यस्ती माया गर्ने त । तर अहिले छातीछाती सम्म पोखिएकी÷ घोप्टीएकी मायालाई हेर्छु अनायसै मनमा यो नै मेरो जीवन हो जस्तो लाग्छ । एकोहोरो भएछु ए बुद्धु भन्दै हल्लाई । डुब्नै थालेको पहेँलो घाम तिर हेदै भने शिशु अब यस्तै कहानी अरुलाई भन्न नपरोस । थाकिसकेँ म त । बोल्दै थिएँ मुखै थुनीदिई ।
चाउचाउ खाँदै थिएँ मैलेँ । उसले कुरमुरे टोक्दै थिई । बजारको चोकमा आईपुग्दा एक हुल मान्छे नाकाबन्दी विरुद्ध नारा लगाउँदै आईरहेका थिए । राजनीति कहिल्यै पनि नरुचाउने शिशुले भारतलाई मज्जाले गाली गरी । भनी जाउँ नारा लगाउँ । के भनेकी ? भन्दै थिएँ बिच रोडमा गएर नारा लगाउँदै थिई हाम्रो माया जिन्दावाद । उसले देशको माया भनी या हाम्रो माया भनी कुन्नी ? सोचिन ।

                              लेखक- राप्ती साहित्य परिषद्का आजिवन सदस्य हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी