मंसिर ,२३ डोटी ।
नाकाबन्दीपछि डोटीमा पर्याप्त मात्रामा एलपी ग्याँस भित्रिन सकेको छैन् । करिब दुई महिना यता यसै साता दुई सय ८० सिलिण्डर बाहेक थप ग्याँस आएकै छैन । जसले बजारबासीको चुलो दाउराकै भरमा चलिरहेको छ । पर्याप्त मात्रामा दाउरा समेत पाईने गरेको छैन । जसले धेरैजसोको चुलो बाल्न समेत धौधौ पर्न थालेको छ ।
यसको बढी असर बिद्यार्थीहरुले भोगिरहेका छन् । ‘ग्याँस सकिएको महिनादिन पुग्न लागिसक्यो,’ दिपायलमा डेरा गरी बस्ने बिद्यार्र्थी दिपक खड्काले भने,‘दाउरा पनि पाईदैन्, खाना पकाएर खानै सकिएको छैन । कहिले होटलमा खान्छनु, कहिल्यै चाउचाउ बिस्कुटले छाक टार्नु परिरहेको छ ।’
अभावको ठुलो असर होटल व्यावसायीहरुले पनि भोगिरहेका छन् । ‘ग्याँस सकिएपछि होटल घाँटामा चलाईरहेको छु,’ राजपुरस्थित होटल न्यू एराका संचालक खगेन्द्र बिक्रम चन्दले दुखेसो पोख्दै भने,‘दाउरा पनि सहजै पाउदैन, पाईए पनि महंगो छ । दाउरा महंगो हुँदा व्यापार घाटामा छ ।’
दाउराका भरमा साविकको झै सेवा दिन नसकिएको पनि उनले सुनाए । ग्याँसकै अभावका कारण समग्र होटल व्यावसाय घाँटामा रहेको होटल व्यावसायी संघ डोटीका अध्यक्ष दिपक बहादुर खड्काले बताए । उनले भने,‘दाउरा तथा अन्य बैकल्पीक स्रोतमा होटल चलाउदा समस्या नै भैरहेको छ ।
दाउरा महंगो छ, भनेको बेला पाउदैन, डडेल्धुरासम्म पुगेर ल्याउनुपर्छ जसका कारण खर्चिलो हुन पुगेको छ ।’ ग्याँसकै अभावका कारण अन्य बजारबासीले पनि चरम सास्ती भोगिरहेका छन् । ‘ग्याँस सकिएपछि डेरामा खाना पकाएर खाएकै छैन,’ सिलगढीमा डेरामा बस्ने एनजिओकर्मी लाल बहादुर बिकले भने,‘कहिल्यै होटलमा खाइन्छ, कहिल्यै भोकै बस्नुपर्ने बाध्यता छ ।’
नाकाबन्दीपछि जिल्लामा पर्याप्त ग्याँसको आयात हुन नसकेको ग्याँस व्यावासायी बताउछन् ।‘एक महिनापछि अस्ती केही ग्याँस आएको हो,’ दिपायल स्थित राजा ट्रेडर्सका सञ्चालक गणेश बहादुर सिंहले भने,‘जुन सबैलाई पर्याप्त हुने मात्रामा थिएन, अझै धेरैजसो उपभोक्तालाई ग्याँस उपलब्ध गराउन सकिएकै छैन् ।’
अहिले थप ग्याँस आउने÷नआउने बारेमा केही भन्न सकिने अवस्था नरहेको उनले बताए ।