चाउमिन र मःमभन्दा केही भन्न जान्दैनन् केटाकेटी

चाउमिन र मःमभन्दा केही भन्न जान्दैनन् केटाकेटी

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

लमजुङ, २१ मङ्सिर ।

“के गर्ने बाबु पहिला–पहिला अलिअलि धान बेचेर दसैँतिहार खर्च टार्न ठीकै भएको थियो । अहिले, निकै समस्या भएको छ, छोराछोरी ढिँडो खान मान्दैनन् । मकैको भात पनि नखाने, खाली धानको भातबाहेक अरु केही खादैँनन् ।”

“दिउँसो यसो कोदोको रोटी खाजा बनाएर राखिदियो खानै मान्दैनन्, मकै भुटेर राख्यो भने पनि त्यसै रहन्छ, खाली चाउचाउ, बिस्कुट, चाउमिन र मःमभन्दा केही भन्न जान्दैनन् केटाकेटी ।”

“जीउ हे¥यो डोकाले छोप्न मिल्ने जस्ता छन्, मकै, कोदो जस्ता पोषिला खानेकुरा खानै मान्दैनन् ।”

जिल्लाको भारतेकी देवीमाया अधिकारीले पोखेको यस्तै दुःखेसो अहिले अधिकांश आमाहरुको छ । बजारमा आएका विभिन्न तयारी खाजाका कारण स्थानीय रुपमा उत्पादन हुने अनि स्वास्थ्यका लागि निकै लाभदायी मानिने खाद्यपदार्थ अहिले बेकाम बनेका छन् ।

गाउँका ‘कसैका चुलोमा ढिँडो पाक्यो भने त्यस घरमा मधुमेहको रोगी छ’ भनेर खिल्ली उडाउने गरेको केही परिवारको दुःखेसो छ । अहिले परिचय बदलिएको छ । केहीवर्ष अघिसम्म कोदोको परिकार पाक्ने परिवारलाई गरिब परिवार ठान्ने प्रचलन थियो । ठूला महाजन र धनीको भान्सामा मसिनो चामलका परिकार पाक्ने गर्दथ्यो । गरिब परिवारका लागि चामलको भात खान चाडबाड नै कुर्नपर्ने अवस्था थियो । समयको गतिसँगै खाने परिकार र तरिकामा परिवर्तन भएको छ ।

आजभोलि यदि कसैको घरमा कोदो वा मकैको परिकार पाक्यो भने त्यो घर सम्पन्न वा महाजनको घर भनेर चिन्ने गरिएको छ । ठूल्ठूला कार्यक्रम वा होटलमा ‘सम्भ्रान्त’ भनिएकालाई ढिँडो र गरिब भनिएकाको लागि चामलको भात पाक्ने गरेको छ ।

यतिबेला नेपालका अधिकांश किसान प्रमुख खाद्यान्न बाली भित्र््याउने चटारोमा छन् । देशका विभिन्न जिल्लाका किसान जस्तै यहाँका किसानलाई यतिबेला कोदो थन्क्याउने चटारो छ । जिल्लाको ६१ वटै गाविसमा लगाइने कोदोबाली थन्काउन किसान निकै नै व्यस्त छन् ।

पछिल्लो समय जिल्लामा उत्पादित कोदो खाद्य सामग्रीको रूपमा भन्दा पनि जाँड, रक्सी लगायत मदिराजन्य पदार्थ बनाउनमा बढी प्रयोग हुने गरेको पाइएको छ । दिनानुदिन मादकपदार्थ सेवनकर्ताको सङ्ख्याको वृद्धिले पहाडी क्षेत्रका गाउँघरमा फल्ने पोषिलो कोदो खाद्यान्नको रूपमा भन्दा घरेलु मदिरामा बढी प्रयोग हुन थालेको छ ।

यो जिल्ला खाद्यान्न उत्पादनको हिसाबले आत्मनिर्भर छ । जिल्लामा उत्पादन भएका अन्न सबै प्रयोगमा ल्याउने हो भने यहाँ बाह्य जिल्लाबाट खाद्यान्न आयत गर्नु पर्दैन । तर जिल्लामा वार्षिक रु नौ करोड बराबरको खाद्यान्न सामाग्री भित्रिएको जिल्ला कृषि विकास कार्यालयको दाबी छ ।

कार्यालयका बागबानी अधिकृत प्रकाश बस्ताकोटी पौष्टिकताले भरिपूर्ण खाद्यान्न दुरुपयोग भएकामा दुःखेसो व्यक्त गर्नुहुन्छ । जिल्लामा तेस्रो प्रमुख बालीको रुपमा चिनिने कोदो खाद्यान्नको रुपमा प्रयोग हुन छाडेपछि खाद्य सङ्कट आउन सक्ने यससँग सरोकार भएकाहरु बताउँछन् ।

जिल्लाको करिब सात हजार ९१९ हेक्टर क्षेत्रफलमा १९५ मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ । अन्य खाद्यान्नको तुलनामा बढी पौष्टिकतत्व पाइने भए पनि सर्वसाधरणमा पर्याप्त ज्ञान नहुँदा कोदो जाँड, रक्सीमा परिणत हुने गरेको छ । “रक्सी पारेर पैसा कमाउन कोदोको प्रयोग भइरहेको छ” जिल्लाको गाउँसहरकी चिनमाया श्रेष्ठ भन्नुुहुन्छ ।

स्वास्थ्यको दृष्टिले ज्यादै महत्वपूर्ण मानिने कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लोपदार्थ, खनिज, मिनरलका साथै क्याल्सियम पाइन्छ । पौष्टिकतत्व पर्याप्त पाइने भएकै कारण बच्चाका लागि लिटोको पीठोमा समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोदोको पीठोलाई सिफारिस गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी