राम सत्य कि रावण ?

राम सत्य कि रावण ?

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 33K
    SHARES

हामी सबैलाई थाहा भएकै कुरा हो, मान्छे महत्वाकांक्षी हुन्छ । मान्छेका चाहनाहरु अपरिमित हुन्छन् । जल, जमिन र जंगलको कुरा होस् या खाना, नाना र छानाको कुरा होस् मान्छेको चाहनाको घेरा दिन रात घनीभूत हुदैछ । मान्छेलाई अब रासन, आसनले मात्रै पुगेन उसलाई शासनमा पनि उत्तिकै साझेदारी चाहिन थालेको छ । फलस्वरुप शासन प्रणालीदेखि लिएर सत्ता साझेदारीसम्मका कुरामा अहिले सबैको रस्साकस्सी चलिरहेको छ । जुन समय र समाज–सापेक्ष पनि छ ।
पुरातनलाई चिर्दै जब–जब नवीन, नवीनतातर्फ हाम्फालिन थाल्छ; तब–तब संग्रामको थालनी भएको इतिहासले प्रस्ट्याएकै छ । कथित साम्यवादीहरुको चट्टानी अडान, पुँजीवादको क्षणभंगुरता र अहिले एकात्मक केन्द्रिकृत राज्य प्रणालीबाट नेपाल सघीयतातर्फ मोडिएको छ जुन नेपालको लागि एउटा नवीनतम आहार पनि हो । जुन आहार पचाउन अहिले राज्यलाई निक्कै हम्मे हम्मे परिरहेको छ । विभाजित र दिक्दारिएका मनहरु, देश भित्रकै भाइचारा पातलिएको अवस्था, भारतीय ठालुवाद यी नवीनतम आहारकै विकार रुपहरु हुन् । जसले सिङ्गो मुलुकलाई विखण्डनको खण्डहरमा धकेलिरहेको छ ।
धेरै थरीका वाद, सिद्धान्त र मान्यताहरु व्याप्त समाजमा व्यक्ति कुनै न कुनै वाद, सिद्धान्त र मान्यतालाई स्वीकार गर्न प्रीतिकर ठान्छ । फरक मत राख्नेलाई बैरीको कोटीमा र सह–मत व्यक्तिको देवत्वकरण गरेर उसका सारा अवगुण स्वीकार गर्नसमेत मान्छे पछि हट्दैनन् । यही एकाङ्गीपनको एसिडले संयम, सहकार्य, सहअस्त्वि र सद्भावमा सोलोडोलो तोडमरोड हुन्छ । जुन अहिले नेपालमा भइरहेको छ । एउटा पक्षले आन्दोलनकारीको मात्र हिंसा देख्न थालेको छ भने अर्को पक्षले राज्यको मात्र । यी दुबै दृष्टि नेपालको समग्र राष्ट्रियताका लागि घातक परिसूचक हुन् । यो विभाजनको कारण ‘सत्य’ निरपेक्ष, शाश्वत र अन्तिम हुन्छ भन्ने परम्परागत अवधारणाको हो, आफ्नो बुझाइ शतप्रतिशत सही छ भन्ने हामी भित्रको एकाङ्गीपनको दोष हो । जबसम्म यस्ता भ्रम निर्देशकको रुपमा निर्देशन गरिरहन्छ, तबसम्म हाम्रो आन्तरिक राष्ट्रियताको सबलीकरण, सुदृढीकरण र मजबुतीकरण किमार्थ हुन सक्तैन ।
मान्छे आफ्नै वाद र सिद्धान्तका लागि मरिमेटिरहेका हुन्छन् । आफ्नो ब्रहमले भ्याएसम्म फरक समय वा फरक भूगोलमा सत्यलाई परिभाषित गरिरहेका हुन्छन् । एउटै बस्तुको मान्छे पिच्छेको फरक–फरक परिभाषाहरु मध्ये कुन परिभाषालाई शाश्वत सत्य मान्ने त ? सत्यमाथि पनि प्रश्न तेर्सिएको छ अहिले । सत्य÷असत्य भन्ने कुरा बेतुकको कुरा हो । आफूले मानिआएको कुरा पूरै सत्य र नमानेको कुरा पूरै गलत हो भन्नु तर्कहीन छ; निराधार छ । सबै सत्यमा भ्रामक अंश मिसिएको हुनसक्छ र सबै असत्यमा आंशिक भएपनि सत्य मिसिएको हुन सक्छ भन्ने तर्कमा हामी कत्तिको सम्बेदनशील रह्यौं ? कुनै पनि बस्तु आफैमा असल र खराब हुँदैन त्यो हेर्नेको चित्त वृत्तमा निर्भर रहन्छ भन्ने कुराप्रति हामी कत्तिको गम्भिर छौं ? आ–आफ्नो देखाइ, भोगाइ र बुझाइहरुलाई मात्र सत्य मान्ने भए सत्य÷असत्य भन्ने कुरा नै रहदैन संसारमा । किनकि मान्छेले मानेको, जानेको र ठानेको भुक्तभोगी बुझाइहरुबाटै सत्यलाई प्रतिविम्बित गराउने कुरा हो । अतः मान्छेपिच्छेको बुझाईलाई शाश्वत सत्य मान्नुको कुनै अर्थै छैन ।
राम सत्य कि रावण ? भन्ने सवालमा निर्विवाद एउटै उत्तर आउँछ । पूर्वीय मिथकमा हामीले पढेको÷सुनेको रामायणमा रामलाई सत्य र रावणलाई असत्यको रुपमा लिने गरेको छ । परन्तु रावणलाई देवताकै स्वरुपमा पूजाअर्चना गर्ने समुदाय र समूह पनि त छ । भारतको उत्तर प्रदेश, आन्द्र प्रदेश, मध्य प्रदेश, राजस्थान, जोधपुर, कर्नाटक, गुजरात, कानपुर लगायत श्रीलंका, थाइल्यान्ड आदि देशमा रावणका मन्दिरहरु स्थापना भएका छन् । हरेक दशैंको दशमीको दिनमा यहाँ रावणको बलिदानको स्मृति गर्दै पूजा गर्ने गरिन्छ । रावणको कतिपय मन्दिरहरूमा रावणसँगै मन्दोदरी, कुम्भकर्ण र इन्द्रजितको पनि पूजा अर्चना गर्ने गरिएको पाइन्छ । दक्षिण श्रीलंकामा त आफ्नो ठाउँलाई रावणकालीन राजधानी मानेर रावणको पूजाआज र सम्झना गर्ने रावणपुर नामक ठाउँ नै छ । जहाँ रामलाई दानवको रुपमा र विभिषणलाई दुष्ट मान्छेको रुपमा परिभाषित गर्ने गरिन्छ । रावण असल र राम खराब थिए भन्ने मेरो तर्क होइन । तर्क हो एउटै बस्तुलाई मान्छेले हर्ने अलग नजरियाको हो । अहिलेको अवस्थामा राज्य राम कि, थरुहट÷थारुवान तथा मधेस रावण ? भन्ने सत्यताको दोहन हुनु निकै जरुरी देखिन्छ । यस्तै सत्य र असत्यबीचको दोहनको पर्खाइमा छ यो अहिलेको आक्रान्त परिवेश; काठमाण्डौं, थरुहट÷थारुवान र मधेस ।
को राष्ट्रवादी, को राष्ट्रघाती ? भनेर अलिकति पनि आत्म समीक्षा गर्नतर्फ किन घोत्लिनन् ? आफ्ना मतका सबै राष्ट्रवादी र फरक मतका सबै राष्ट्रघाती भन्ने रुग्ण मान्यताकै उपज हो यो अहिलकोे अवस्था । अरूका तर्क सुन्ने, पढ्ने, मनन गर्ने धैर्यता समेत हामी सबैले गुमाउँदै गएका छौं । तसर्थ हामी जहाँ छौं, एकपटक त्यहीँ थामिएर सोच्नु पर्ने भएको छ । विभाजित राजनीतिले आमनागरिकलाई ध्रुवीकृत गर्छ; यसले साँघुरो घेराको राजनीतिलाई मलजल गर्छ, समाजलाई सहमतिविमुख बनाउँछ । एकात्मक सोंच, आत्मकेन्द्रित विचार र अतिवादी अडान अहिलेको अपूर्व संकटको जड हो । यसलाई सबैले यो अवस्थामा यसरी नै बुझ्न जरुरी देखिन्छ ।
पूर्वीया र पश्चिमे, पहाडीया र थारु÷मधेशी मिलेर जुन नेपाली भूमीमा एउटा सद्भावको बोट फलेको, फुलेको थियो, त्यसको जरामा बञ्चरो हान्ने काम भएको छ; र दीर्घकालीन जातीय, धार्मिक कलहको बीऊ रोप्ने काम भएको छ । जुन निकै गम्भिर चिन्ताको विषय पनि हो । यसरी एकात्मक सोंच, आत्मकेन्द्रित विचार र अतिवादी अडानले मिलेका मनहरु टुक्र्याउने, जातीय र धार्मिक सद्भावको पुरानो परम्परा तोड्ने र आपसी वैमनश्यता लाद्ने काम भएको छ । राज्यले असन्तुष्ट–पक्षका विषयमा विशेष जिम्मेवारीबोध गर्नैपर्छ र अभिभावकत्व वहन गर्नैपर्छ । राष्ट्रियताको परिभाषा असन्तुष्ट–पक्ष विरोधी मानसिकताको धरातलमा रहेर खोज्ने हो भने हामी सत्य सन्निकट कहिल्य हुन सक्तैनौं । जसले समस्याको निराकरण हैन बीजारोपणतर्फ उन्मुख गराउ छ । यस सन्दर्भमा राज्यले अविलम्ब गहनतापूर्वक सोच्नु अनिवार्य छ । सम्पूर्णरुपमा मधेसीलाई बिहारी, विखण्डनकारी र देशद्रोहीहरुको कित्तामा राखिने जस्ता साँघुरो परिधिबाट राज्य अविलम्ब बाहिरिनु पर्छ ।
‘शीर्षस्थ’को पगरी गुँथनेहरुले जनतालाई यसरी अनेकन लोभ, प्रलोभन र मीठो आश्वासनको दलदलमा उभ्याएर राजनैतिक खेती गरिरहेका छन् । एकतर्फी सत्यताको अफिम सुँघाउने काम भएको छ । यो वादविवाद, आर्तनाद र अवसादको खेती यसरी मौलाउनुको सारगर्भित कुरा नै यहि हो कि आफ्नो र अरुको सह–अस्तित्व र सहभावलाई स्वीकार नगरिनु हो । एकअर्काको अधिकारको व्यवस्थापनमा सही र सहहिस्सेदारी नहुनु हो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार खोस्ने कार्यलाई सकभर बढावा नदिउँ । हामीलाई लट्ठी घुमाउने अधिकार त्यहाँसम्म मात्र छ; जहाँसम्म त्यो लट्ठीले अरुको नाकलाई छुदैन ।

                                                                                 पुनर्वास, कञ्चनपुर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी