काठमाडौं, २० मंसिर ।
ब्रिटिश गोर्खा भुतपुर्व सैनिक संघ बिगेसोले गोर्खाहरुलाई अन्याय र भेदभाव भएको भन्दै नेपाल सरकार मार्फत ब्रिटिस सरकार समक्ष तीन सुत्रिय माग अघि सोरेको छ ।
संघले आज राजधानीको सम्बाद डबलीमा पत्रकार सम्मेलन गरि गोरखाहरुले विभिन्न अभियान गर्दै र अदालती मुद्दा लडेर बाध्यताबस बेलायतका स्थानीय बासिन्दा भैसक्दा समेत उनिहरुप्रति समान व्यवहार नगरिएको गुनासो गरेको छ ।
बिगेसोले बेलायत सरकारले बृटिश गोर्खालाई बेलायत भित्र वा बाहिर जहाँ रहेपनि बेलायती सैनिकसरह नै समान पेन्सन तथा खाइपाई आएको सबै सेवा सुविधा दिनुपर्ने, नेपाल सरकारले ब्रिटिश गोर्खा सैकिक र बेलाइती सैनिकबीच भएका सबै किसिमका भेदभावजन्य व्यवहार र असमानताहरु सदाका लागि अन्त्य गर्न बेलायत सरकारसंग औपचारिक अनुरोध गरि समस्या सामाधान गर्नुपर्ने, सन १९४७ को गोर्खा भर्ती सम्झौतालाई मानवअधिकारसम्बन्धि सिद्धान्त र मान्यताका आधारमा समयानुकुल परिवर्तन गर्नुपर्ने लगाएतका माग अघि सारेको हो ।
यस्तै गोर्खाहरुलाई एनआरएनको हैसियतमा मात्र सिमित नराखि राजनितिक अधिकारसहितको दोहोरो नागरिकताको सुविधा प्रदान गरिनुपर्ने पनि उसले माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका नेता सुरेश आलेमगरले ब्रिटिश गोर्खा साच्चै अन्यायमा परेको भन्दै संघका मागप्रति आफ्नो पार्टीको ऐकेबद्धता रहेको बताउनुभयो ।
उहाले ब्रिटिस गोर्खाको जायज र न्यायपुर्ण हक अधिकारका लागि आफ्नो पार्टी सधै सकारात्मक रहेको बताउदै सन १९४७ को गोर्खा भर्ती सम्झौता विकल्पसहित खोरेज हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै संघका कानुनी सल्लाहकार गोपाल सिवाकोटी ‘चिन्तन’ ले एउटा देशको नागरिकमाथि अर्को देशले अन्याय गर्दा त्यसको हक अधिकारका निम्ती सरकार लड्नुपर्ने तर ब्रिटिस गोर्खाको हकमा नेपाल सरकार नलडेको दाबी गर्नुभयो ।


