राष्ट्रिय महत्वका आयोजनामा इन्धनको अभाव नहुने , वितरण प्रणाली सुधार

राष्ट्रिय महत्वका आयोजनामा इन्धनको अभाव नहुने , वितरण प्रणाली सुधार

  • शुक्रबार, मंसिर १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, १८ मङ्सिर ।
राष्ट्रिय महत्वका तथा निर्माणको अन्तिम चरणमा रहेका ठूला आयोजना इन्धन अभावले निर्माण कार्य अवरुद्ध हुन थालेपछि सरकारले त्यस्ता आयोजनालाई आवश्यकता अनुसार इन्धन आपूर्ति गर्ने भएको छ ।

मुलुकमा इन्धनको आपूर्ति असहज भएपछि ठूला आयोजना इन्धन अभावले निर्माण कार्य अवरुद्ध हुन थालेपछि नेपाल आयल निगमले सो निर्णय गरेको हो । हाल कुल मागको २० प्रतिशत मात्र पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको छ ।

सम्बन्धित मन्त्रालय र निकायको सिफारिसमा निगमले तत्काललाई माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, चमेलिया जलविद्युत् आयोजना, कुलेखानी जलविद्युत् आयोजना र धादिङ गल्छी रसुवागढी सडक आयोजनालाई आवश्यकताअनुसार इन्धन उपलब्ध गराउने निगमका प्रवक्ता तथा निर्देशक मुकुन्द घिमिरेले बताउनुभयो ।

सङ्घीय प्रदेशको सीमाङ्कनप्रति असन्तुष्ट मधेस केन्द्रित दलको साँढे तीन महिनादेखि जारी आन्दोलन र भारतले सीमानामा दुई महिनादेखि गरेको अघोषित नाकाबन्दीका कारण मुलुकमा इन्धनलगायत अत्यावश्यक वस्तु आपूर्तिमा असहजता उत्पन्न भएको छ । इन्धनको आपूर्ति नभएपछि मुलुकका झन्डै ९० प्रतिशत उद्योग बन्द भएको सरोकारवालाले बताएका छन् ।

सरकारले इन्धनको अभाव हुन नदिने प्रतिबद्धता गरेका आयोजनामध्ये ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने २०७३ साल मङ्सिरसम्म निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ ।

इन्धनका अभाव हुन नदिने भनिएको अर्काे ३२ मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङ खुम्चिएपछि अवरुद्ध हँुदै आएको निर्माण कार्य इन्धन अभावले थप प्रभावित भएको थियो । करिब चार प्रतिशत मात्रै निर्माण कार्य बाँकी रहेको यो आयोजना आन्तरिक विवाद तथा संसदीय समितिको चासोको कारण थप समस्या परेको हो ।

इन्धन आपूर्ति सहज भएको खण्डमा आयोजना आगामी असारभित्र सम्पन्न हुनेछ ।

यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य ७५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने इन्धनको आपूर्ति निरन्तर भएमा निर्माण कार्य चाँडै सम्पन्न हुने बताइएको छ ।

भारतीय नाकाबन्दीको विकल्पको रुपमा बिहीबार मात्र सरकारले राष्ट्रिय महत्वको आयोजना भनी दुई वर्षमा विस्तार र कालोपत्रे गर्ने निर्णय गरेको गल्छी–रसुवागढी सडक निर्माण कार्य सम्पन्न भएपछि मुलुकको उत्तरी नाकाबाट आपूर्ति गर्न सहज हुनेछ ।

तामाकोशी सञ्चालनका लागि सातामा १२ हजार लिटर आवश्यकता पर्छ भने चमेलियालाई तीन हजार लिटर डिजेल आवश्यकता पर्छ ।

यसैबीच , निगमले तिहार अगाडि निजी सवारीसाधनलाई इन्धन उपलब्ध गराएको भएपनि त्यसपछि उपलब्ध गराइएको छैन । पेट्रोलको तुलनामा डिजेल उपलब्ध बढी भएकाले सहज छ । निगमले हाल प्रतिदिन दुई लाखदेखि दुई लाख ३० हजार लिटर डिजेल थानकोटबाट वितरण गर्दै आएको छ ।

लामो दूरीका बस, स्कुल तथा क्याम्पस र अस्पतालका सवारी साधनलाई उपलब्ध गराइराखेका निर्देशक घिमिरेले बताउनुभयो । डिजेलको तुलनामा पेट्रोल कम आयात भएको छ । रक्सोल नाका बन्द भएका कारण भैरहवाबाट प्रयोग गरिएको थियो । पछिल्लो समयमा भैरहवा पनि एक सातादेखि बन्द रहेको निगमको भनाइ छ ।

पछिल्लो समयमा विराटनगरबाट मात्रै इन्धन आएको छ । विराटनगरबाट पनि तीन दिनमा ४७ वटा ट्याङ्करमात्रै नेपाल भित्रिएको छ ।

ईन्धन वितरण पारदर्शी नभएको गुनासो आएपछि प्रत्येक पेट्रोल पम्पमा वाणिज्य मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र आयल निगमका कर्मचारीले अनुगमन गर्दै आएका छन् ।

“अघिल्लो दिन नै कुनकुन पेट्रोल पम्पबाट कति पेट्रोलियम पदार्थ उपलब्ध गराइँदैछ भनेर सूचना उपलब्ध गराएका छाँै” प्रवक्ता घिमिरेले भन्नुभयो । प्रत्येक पेट्रोल पम्पमा वाणिज्य मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र आयल निगमका कर्मचारीले अनुगमन गर्दै आएका छन् ।

पेट्रोल पम्पले इन्धन बिक्री नगरिसक्दासम्म अनुगमन टोलीले निगरानी गर्ने भएकाले अनियमिता हुने अवस्था नरहेको निगममा रहेको नियन्त्रक कक्षले जनाएको छ ।
हवाई इन्धनमा सहज हुँदै

आन्तरिक उडानलाई प्रभावित हुन नदिन आन्तरिक वायु सेवा प्रदायक कम्पनीलाई निगमले हवाई इन्धन उपलब्ध गराउँदै आएको छ । नेपाल वायुसेवा निगमले ल्याएको हवाई इन्धनबाटै आन्तरिक उडान सञ्चालन भइरहेको छ । बिहीबारदेखि निजी क्षेत्रको पेट्रोलिम्याक्सले कम्पनीले इन्धन ल्याउन थालेको छ ।

पेट्रोलिम्याक्सले पहिलो दिन बिहीबार ३९ हजार ७०० किलोलिटर इन्धन ल्याएको थियो । शनिबारदेखि कम्पनीले दैनिकरुपमा एक लाख लिटर इन्धन ल्याउने बताएको छ । त्यसो हुन सक्यो भन्ने थप सहज हुने निगमको भनाई छ ।

निगमलाई अन्तर्रा्ष्ट्रिय उडानलाई इन्धन दिन दैनिक तीन लाख ५० हजार लिटर आवश्यक पर्छ । वायु सेवा निगमले भन्सार र भ्याट बाहेक रु १८६ मा उपलब्ध गराएको छ । पेट्रोलिम्याक्सले पनि सोही मूल्यमा इन्धन उपलब्ध गराउने जनाउने भएको छ ।

आन्तरिक उडानमा दैनिक ५० देखि ६० हजार लिटर इन्धन खपत हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी