कोरला नाका सञ्चालनमा ल्याउन उपयुक्त

कोरला नाका सञ्चालनमा ल्याउन उपयुक्त

  • बिहिबार, मंसिर १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

मुस्ताङ, १७ मङ्सिर ।

लामो समयदेखि बन्द अवस्थामा रहेको मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका सन्चालनमा ल्याए नेपाललाई फाईदा पुग्ने संसदीय टोलीले निष्कर्ष निकालेको छ ।

नाकाको स्थलगत अध्ययनका लागि गएको व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिले सो नाका दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्न उपयुक्त विकल्प भएको जनाएको हो ।

समितिका सभापति रवीन्द्र अधिकारीले दुई देशलाई जोडेर त्यसबाट फाइदा लिन नाका उपयोगी हुने देखिएको बताउनुभयो ।

सुरक्षाको कारण देखाउँदै चिनियाँ पक्ष सहमत नभएपछि करिब १२ वर्षदेखि नाका बन्द अवस्थामा छ । नाकालाई प्रयोग गर्दै तिब्बतबाट धार्मिक गुरुहरु भारत लगायतका देशमा प्रवेश गर्ने र उपल्लो मुस्ताङमा खम्पा विद्रोह भएका कारण चिनियाँ पक्षले नाकालाई संवेदनशील मान्दै आएको छ ।

“यहाँसम्म आधारभूत रुपमा सबै कुरा पुगेको पाइयो, अब त्यसलाई स्तरोन्नति नै मुख्य कुरा हो”, सभापति अधिकारीले भन्नुभयो, “केही स्थानमा सडकको स्तरोन्नति गर्नुपर्ने देखिएको छ, त्यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन पनि दिनेछौँ ।” टोलीले सीमा क्षेत्रमै पुगेर सडक र नाका आसपासको भूगोलको अवस्था अध्ययन गरेको थियो । सीमा क्षेत्रसम्म कालीगण्डकी करिडोरअन्तर्गत सडकको पहुँच पुगे पनि जोमसोमदेखि माथिल्लो खण्डमा थुप्रै ठाउँमा सडकको व्यापक स्तरोन्नति गर्नुपर्ने देखिएको छ ।

सडक डिभिजन कार्यालयका इन्जिनियर पनि टोलीमा सहभागी रहेका कारण आवश्यक अध्ययन र बजेट व्यवस्थापनका लागि सरकारलाई थप निर्देशन दिने समितिले जनाएको छ । नाका सञ्चालन हुने बित्तिकै सिधै सम्बन्ध सुनौली नाकासम्म हुने भएकाले पश्चिमाञ्चल विकास क्षेत्रका लागि बढी फाइदाजनक भएको सभापति अधिकारीले जानकारी दिनुभयो ।

नाका सञ्चालनकै लागि लामो समयदेखि सदरमुकाम जोमसोममा रहेको सीमा प्रशासन कार्यालय र नेचुङ भन्सार कार्यालय पनि उपल्लो मुस्ताङमा पुनस्र्थापना गरिएको छ । सीमामा भन्सार कार्यालयलाई केही मात्रै व्यवस्थित गरिए पुग्ने देखिएको छ ।

सिमाना नजिकै चिनियाँ पक्षले भने सुरक्षा क्याम्प खडा गरेर सुरक्षा निगरानी बढाएको छ भने नेपाली पक्षबाट त्यसो हुन सकेको छैन । भारतीय नाकाबन्दीका कारण देशभर इन्धन, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको चरम अभाव भइरहेको सन्दर्भमा तत्काल नाका सञ्चालन गर्न स्थानीयवासीले पनि माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी