काठमाडौं, मंसिर ११ ।
नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा र्पुयाएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्ण्विराम लगाउँदै भोलि नेपालबाट बिदा हुँदै छन् ।
नेपालमा करिब चार वर्ष प्रशिक्षकका रुपमा बिताएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन् ।
सन् २०११ सेप्टेम्बरमा नेपाल आएका दासानायकेकै नेतृत्वमा नेपालले डिभिजन चारबाट उक्लेर डिभिजन एकसम्मको यात्रा तय गर्न सफल भएको थियो ।
त्यस्तै, उनकै नेतृत्वमा नेपाली टोलीले बंगलादेशमा भएको ट्वेन्टी–२० विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । नेपाललाई एक दिवसीय वरीयता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुकेका थिए ।
प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गरेका छन् । साथै उनले नेपाललाई एक दिवसीय वरीयता दिलाउन नसकेकामा दुःख पनि व्यक्त गरेका छन् ।
त्यतिबेला कप्तान पारसलगायतका केही महत्वपूर्ण खेलाडीहरु ‘फिट’ नभएका कारण पनि प्रतियोगितामा आफ्नो सोचाइअनुरुपको खेल प्रदर्शन गर्न नसकेको प्रशिक्षक दासानायकेको भनाइ छ ।
न्यूजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो ।
दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उनले केही समयअघि राजीनामा दिएका थिए ।