आर्थिक वृद्धि २ प्रतिशत मात्रै हुने प्रक्षेपण सहितको स्वेत पत्र जारी

आर्थिक वृद्धि २ प्रतिशत मात्रै हुने प्रक्षेपण सहितको स्वेत पत्र जारी

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, ८ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको देशको वर्तमान आर्थिक अवस्था र नेपाल सरकारको तत्कालको कार्यदिशासम्बन्धी श्वेतपत्रमा कृषि क्षेत्रको वृद्धिदर अघिल्लो आर्थिक वर्षमा १.९ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा एक प्रतिशतको हाराहारीमा मात्र हुने अवस्था देखिएको उल्लेख छ ।

मौसमी प्रतिकूलताले बर्खेबालीमा पारेको प्रभावका कारण कृषि क्षेत्रमा २१ प्रतिशत भार रहेको धानको उत्पादन पाँच प्रतिशतले र सात प्रतिशत भार रहेको मकैको उत्पादन १० प्रतिशतले घट्ने अनुमान गरिएको छ । रासायनिक मलको आपूर्ति सहज हुन नसकेमा गहुँको उत्पादन पनि ३० प्रतिशतले घट्ने सम्भावना रहेको श्वेतपत्रमा उल्लेख छ ।

मुलुकको वार्षिक खाद्यान्न आवश्यकता ५३ लाख ४५ हजार मेट्रिक टन रहेकामा २०७२ असार मसान्तसम्म एक लाख ५५ हजार मेट्रिक टन मात्र बचत रहेकाले खाद्यान्न उत्पादनमा आउनसक्ने गिरावटबाट खाद्यसुरक्षा कायम राख्न चुनौती थपिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । होटल, रेस्टुरेन्ट तथा क्याटरिङ सेवाको माग तथा आपूर्तिमा कमी आई दूध र मासु प्रत्येकको उत्पादन दुई÷दुई प्रतिशतले घट्ने देखिएको अनुमान गरिएको छ ।

गत वर्ष करिब ३६ लाख मेट्रिक टन तरकारी उत्पादन भएकोमा सो को ५० प्रतिशत बर्खायाममा उत्पादन भएकाले समग्रमा यस वर्ष पनि उत्पादनमा कमी नआउने अनुमान गरिएको छ । ढुवानी समस्याले देशका विभिन्न स्थानमा उत्पादन, तरकारी सङ्कलन र बजारीकरण गर्ने कार्य प्रभावित भएको देखिएको छ । कालीमाटी तरकारी तथा फलपूmल बजारबाट मात्रै दैनिक ६०० मेट्रिक टन तरकारी बिक्री हुने गरेकामा हाल ४०० मेट्रिक टन मात्र बिक्री हुने गरेको, दुग्ध विकास संस्थानबाट दैनिक एक लाख लिटर दूध वितरण हुने गरेकामा हाल ८० हजार लिटर मात्र वितरण भइरहेको विवरण प्रस्तुत गरिएको छ ।

ब्वाइलर तथा लेयर्स चल्ला, अण्डा र तरकारी, मासु उत्पादन तथा वितरणमा प्रतिकूल असर परेको, व्यावसायिक रुपमा फस्टाउँदै गरेको दुग्ध उत्पादन तथा कुखुरापालनका लागि आवश्यक पर्नेे दानामा प्रयोग हुने मकै, भटमासजस्ता खाद्यपदार्थको आपूर्तिमा कठिनाइ उत्पन्न हुँदा व्यवसाय प्रभावित हुँदै गएको श्वेतपत्रमा उल्लेख छ ।

यस वर्ष हिउँदे बालीलाई लक्ष्यित गरी आयात गर्न लागिएको रासायनिक मल ट्रान्जिटमा रोकिएको र सो मल समयमै आयात भई वितरण हुन नसकेमा हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको उल्लेख छ । हालको इन्धन समस्याले कृषिका लागि अपरिहार्य सिँचाइ सुविधासमेत प्रभावित बनेको र विद्युत् उपलब्ध नभएका स्थानमा भूमिगत सिँचाइ र लिफ्ट सिँचाइ अवरुद्ध बनेको उल्लेख छ ।

अर्थमन्त्री पौडेलले चालु आवलाई बजेट कार्यान्वयन वर्षका रुपमा घोषणा गरिएको भएपनि सरकारी खर्चले सुस्तता आउँदा विकास आयोजनाको कार्यान्वयनमा कठिनाइ भएको बताउनु भएको छ ।

अर्थमन्त्रालयमा आज साँझ पत्रकार सम्मेलनमार्फत स्वेतपत्र जारी गर्दै उहाँले भूकम्पपछि प्रभावित भएका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन तराई–मधेसको बन्द, हडताल र आपूर्ति प्रणालीको अवरोधले झनै कठिन बनाएको बताउनुभयो ।

सरकारी खर्च हुन नसकेकाले पहिलो चौमासिकको अन्त्यसम्म सरकारी कोष रु ८० अर्ब ८१ करोड बचत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

पारवहनमा आएको अवरोधका कारण मासिक लक्ष्यअनुसार राजस्व असुली हुन नसकेको उल्लेख गर्दैै उहाँले कात्तिक मसान्तसम्मको लक्ष्यमध्ये भन्सार राजस्व सङ्कलन रु २५ अर्बले र आन्तरिक राजस्व सङ्कलनमा रु १३ अर्बको कमी भएको जानकारी दिनुभयो ।

त्यसैगरी, सीमा नाकामा भएको अवरोध र बजार बन्दले व्यापारिक नोक्सानी हुँदा आयकरमा पनि प्रभावित हुन थालेको उल्लेख गर्दैै अर्थमन्त्री पौडेलले संस्थागत आयकरमध्ये ६० प्रतिशत क्षेत्र मारमा परेकाले राजस्व प्रणाली र सार्वजनिक खर्च व्यवस्थापनमा चुनौती थपिएको बताउनु भयो ।

बजेट खर्च हुन नसक्दा र पुनर्निर्माण कार्य अगाडि बढ्न नसक्दा प्रतिबद्धता आएका सहायता पनि परिचालन हुनसक्ने अवस्था नरहेको बताउँदै उहाँले भूकम्पपछिको पुनर्निर्माण लागि गरिएको अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत अपेक्षितरुपमा अगाडि बढ्न नसकेको बताउनु भयो ।
सरकारले चालु आवमा रु ८८ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा हालसम्म उठाउन नसकिएको उहाँले बताउनु भयो ।

तत्कालको कार्यदिशा

सरकारले तराई–मधेसको बन्द, हडताल र आपूर्ति प्रणालीको अवरोधका कारण मुलुकले भोग्नुपरेको अनपेक्षित समस्या समाधान गर्न सरकारले राजनीतिक एवम् कूटनीतिक पहल गरिएको उल्लेख गरिएको छ ।

उपलब्ध इन्धन र उपभोग्य सामग्रीको वितरण व्यवस्थालाई न्यायोचित बनाउन उपलब्ध सबै विकल्पको उपयोग गरिने जनाइएको छ ।

चालु आवको बजेट कार्यक्रम कार्यान्वयनका लागि स्रोतको उच्चतम परिचालन गरिने र उत्पादन वृद्धि गर्न र वितरण व्यवस्था सहज बनाउन आवश्यक कार्यक्रमलाई पुनः प्राथमिकीकरण गरिने उल्लेख गरिएको छ ।

आपूर्ति प्रणालीको अवरोधका कारण मानवीय सङ्कट आउन नदिन आधारभूत उपयोगका वस्तुको उपलब्धता र अत्यावश्यक सेवालाई सुचारु गर्न सरकारले सबै वैकल्पिक उपाय अवलम्बन गर्ने जनाइएको छ ।

सरकारी, निजी, सहकारीका साथै गैरसरकारी क्षेत्र तथा बाह्य पक्षको सहकार्यमा ठूला पूर्वाधारको विकास र आन्तरिक उत्पादन वृद्धिका कार्यक्रम कार्यान्वयन गरी आम रोजगारीका अवसर सिर्जना गरिने उल्लेख छ ।

मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र कायम राख्न र वित्तीय स्थायित्व खल्बलिन नदिन आवश्यक वित्तीय मौद्रिक उपकरणको प्रयोग गरिने र विदेशी नियोगलाई अन्तर्राष्ट्रियस्तरमा हालको यथार्थ जानकारी गराएर वैदेशिक सहायता, लगानी एवम् पर्यटक भित्र्याउन पहल गरिने उल्लेख छ ।

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापना

पुनर्निर्माण प्राधिकारणको विधेयक व्यवस्थापकिका–संसद्बाट यथाशीघ्र पारित गरी पुनर्निर्माणको कार्यक्रम अगाडि बढाइने छ ।

पुनर्निर्माण प्राधिकरण स्थापना नहुञ्जेलसम्म पुनर्निर्माणका कार्यक्रम राष्ट्रिय योजना आयोगबाट सञ्चालन गरिने र भूकम्पपीडित परिवारका लागि व्यवस्थित बस्ती विकास कार्ययोजना कार्यन्वयन गरी आवासको प्रबन्ध गरिने उल्लेख गरिएको छ ।

सरकारले यसअघि घोषणा गरेकोप्रति भूकम्पपीडित परिवार रु दुई लाख सहायता रकमको पहिलो किस्ता तत्काल निकासा दिइने र पूर्णरुपमा घर क्षति भएका भूकम्पपीडितलाई सामुहिक जमानीमा रु तीन लाखसम्म सहुलियत दरमा बैंक कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख छ ।

श्वेतपत्रअनुसार त्यसैगरी पूर्णरुपमा घर क्षति भएका भूकम्पपीडित परिवारलाई आसन्न जाडोमा न्यानो कपडा खरिद गर्न यही महिनाभित्र रु १० हजार अनुदान उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

भूकम्पीडितको स्वास्थ्य अवस्था बिग्रन नदिन जनस्वास्थ्यका घुम्ती सेवा कार्यक्रमलाई सघनरुपमा सञ्चालन गरिने उल्लेख छ ।

भूकम्पप्रतिरोधी भवन निर्माण गर्न दक्ष र अर्धदक्ष व्यावसायिक कामदार तयार गर्न सिकर्मी, डकर्मी, वायरिङसम्बन्धी तालिमका कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिनेछ ।

त्यसैगरी, भूकम्पबाट भत्किएका पूर्वाधारमध्ये विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक धरोहर एवम् मठमन्दिर, विद्यालय, स्वास्थ्यचौकी, सार्वजनिक भवन, सडक तथा पुल, विद्युत् गृहको पुनर्निर्माण प्राथमिकताका आधारमा तत्काल सुरु गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी