काठमाण्डौ, ३ मंसिर ।
सीमामा ५६ दिनदेखि जारी अवरोध र नाकाबन्दीका कारण नेपाल भित्रिने तयारीमा रहेको करिब ३ हजार टन औषधि सीमापारिको भारतीय भूमिमा रोकिएका छन् ।
मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज रक्सौलबीचको दशगजास्थित मितेरी पुलमा आन्दोलनरत मधेसी मोर्चाको आह्वानमा असोज ७ गतेदेखि भइरहेको लगातारको धर्ना देखाउँदै भारतीय पक्षले नेपाली मालसामान रोकेका हुन् ।
अघोषित नाकाबन्दीमा परेपछि इन्धन र अरु मालसामानसँगै जीवनरक्षक तथा अतिआवश्यक बस्तु मानिने औषधिसमेत नेपाल भित्रिन पाएको छैन । औषधि ब्यवसायीका अनुसार सीमापारिको भारतीय सहर रक्सौलमा आयातित औषधि थन्किएका छन्।
सीमामा अवरोध लम्बिएपछि ढुवानीकर्ता भारतीय ट्रक संचालकले रक्सोलमै औषधि लगायतका स्वस्थ्य सामग्री खन्याएर फर्केका छन् । ट्रान्सपोर्टका गोदामदेखि आवाशीय घरसम्मका ठाउँ भाडामा लिएर आयातकर्ताले औषधि राखेका छन् ।
’रक्सौल नाकामा मात्र तीन सय ट्रकभन्दा बढी औषधि अड्किएको छ,’ नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष समेत रहेका औषधी आयातकर्ता प्रकाश खण्डेलवालले भन्नुभयो, ’नेपालमा आयात गर्नु पर्ने अधिकांश औषधि र कच्चा पदार्थ यसै नाकाबाट भित्रिन्छ ।’
उहाँका अनुसार ४ दर्जनभन्दा बढी आयातकर्ता व्यापारिक प्रतिष्ठानको औषधि रोकिएको छ । रक्सोल वीरगन्ज नाका भएर पहिलेदेखि तय ’कन्साइनमेन्ट’को नाका परिवर्तन गरी बेंलहिया (भैराहवा)बाट ल्याउन झन्झटिलो कागजी प्रक्रिया छ ।
कतिपय आयातकर्ताले भैराहवा नाकाबाट ल्याउदा पर्ने तेब्बर भाडा खर्च बेहोरेर औषधि भित्र्याउने जोहोमा लागेको खण्डेलवालले बताउनुभयो ।