पर्सा, ३ मंसिर ।
कोलकातास्थित बन्दरगाहका ‘क्लियरिङ एजेन्ट’ले नेपालतर्फको काम ठप्प पारेका छन् । आयातकर्ताले ट्रक, कन्टेनरको विलम्ब जरिवाना र शुल्क नबुझाएको कारण देखाउँदै उनीहरुले काम ठप्प पारेका हुन् ।
भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण पेट्रोलियम र अन्य अत्यावश्यकीय मालसामानको आयात अवरुद्ध भइरहेका बेला कोलकातास्थित बन्दरगाहमा समेत क्लियरिङ एजेन्टले नेपालतर्फको काम ठप्प पारेपछि नेपाली आयातकर्ता थप मारमा परेका छन् ।
वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा विगत दुई महिनादेखि थन्किएका मालवस्तु केही दिनयता प्रहरी सुरक्षामा ढुवानी गरेलगत्तै कोलकता बन्दरगाहमा जरिवाना र शुल्कको विषय झिक्दै क्लियरिङ एजेन्टले कामकाज ठप्प पारेका नेपाल उद्योग वाणिज्य महासङ्घका आपूर्ति समिति संयोजक विजयकुमार सरावगीले जानकारी दिनुभयो ।
नेपालका लागि काम गर्ने सयभन्दा बढी एजेन्टलाई सिपिङ एजेन्सी र ढुवानी व्यवसायीले रकम बुझाउन दबाब दिएपछि काम नै रोकेको संयोजक सरावगीको भनाइ छ ।