काठमाडौं, २ मंसिर ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो चरणको दोस्रो खेलमा नेपाल पपुवा न्युगिनीसँग ३ वीकेटले पराजित भएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाएर २ सय २४ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्काले ८१ बलमा ५ चौकाको मद्धतले ५८ रन बनाए । सागर पुनले ९२ बल खेल्दै ४७ रन बनाए ।
ज्ञानेन्द्र मल्लले ३६ रन, मेहबुब आलमले १५ बनाए । नेपालका दुबै ओपनर शून्यमै आउट भएका थिए । निकै बलियो बलिङ प्रस्तुत गरेको पपुवाका लागि भानुवा र भालाले ३–३ र एस् बाउले २ विकेट लिए ।
संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा भएको प्रतिस्पर्धात्मक खेलमा पपुवाका भारेको उत्कृष्ट ब्याटिङले नेपाल पराजित भएको हो । भारेले ९० बल खेल्दै ७६ रन बनाए ।
पपुवाका लागि उराले २४, एस् बाउले ३६, भालाले १८, रेभाले ३१ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामीले तीन, वसत्न रेग्मीले २ साथै सागर पुन र शक्ति गौचनले १–१ विकेट लिए ।
नेपाल दोस्रो चरणको पहिलो खेलमा पपुवा न्युगिनीसँगै दुई विकेटले पराजित भएको थियो । यसअघि स्कटल्याण्डमा भएको पहिलो चरणका दुई खेलमा पनि नेपाल पराजित भएको थियो ।
स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल तीन रन तथा दोस्रो खेलमा ९ विकेटले हारेको थियो । प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
यी आठ टोलीले हरेक टोलीसँग दुई दुई खेल खेल्नेछन् । सबै खेल सकिएपछि अंक तालिकाको शीर्ष ६ स्थानमा रहने टोलीले सन् २०१९ को विश्वकप छनौट खेल्न पाउने छन् ।