भैरहवा, १ मंसिर ।
तेल वितरणमा भेदभाव भएको भन्दै पश्चिमाञ्चलका पेट्रोलियम डिलर्स एशोसिएसन नेपाल आन्दोलनमा उत्रिएको छ ।
नेपाल आयल निगमको क्षेत्रीय कार्यालय भलवारी डिपोले आयात भएको ४० प्रतिशत पनि स्थानीयस्तरमा वितरण नगरेको तथा तेल वितरणमा भेदभाव गरेको आरोप लगाउँदै एशोसिएसन आन्दोलनमा उत्रिएको हो ।
एशोसिएसनमा आवद्ध पम्प व्यवसायीहरुले सहमति अनुसार ४० प्रतिशत तेल वितरण नहुन्जेल आफूहरुले खरीद गर्न नसक्ने बताएका छन् ।
उनीहरु आइतवारदेखि नै निगमबाट तेल खरिद गर्न छाडेर निगम क्षेत्रीय कार्यालय अगाडि धर्नामा बसेका छन् । पम्प व्यवसायीले निगमबाट तेल खरिद गर्न छाडेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारणले थप सास्ती खेप्नु परेको छ ।
पेट्रोलियम पदार्थ आयातमा आयल निगमको एकाधिकार रहे पनि बितरण भने निजी पम्पबाट हुने गर्दछ । निगमबाट तेल खरीद गरी सर्वसाधारणसम्म र्पुयाउने जिम्मा पम्प व्यवसायीहरुको हो ।
नेपाल आयल निगमको क्षेत्रिय कार्यालय भलवारीका प्रमुख दिनेशकुमार यादवले इन्धन संकटका बेला आन्दोलित हुनु जायज नभएको भन्दै आन्दोलन फिर्ता लिएर भएको तेल खरीद गरी सर्वसाधारणलाई वितरण गर्न पम्प व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
पम्प व्यवसायीको आन्दोलनका कारण आइतवारदेखि निगमको भैरहवा वितरण केन्द्र बाहेक रुपन्देहीका अन्य पम्पहरुबाट समेत बिना सिफारीस तेल वितरण गर्ने निगमको योजना पूरा हुन नसकेको यादवले बताउनु भयो ।