काठमाडौ १ मंसिर । वीरगन्जस्थित सुक्खा बन्दरगाहले आयातित मालसामानको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको छ ।
मधेस केन्द्रित दलहरुको आह्वानमा अनिश्चितकालीन लगातारको बन्द र हडतालका कारण आयातकर्ताले समयमा ढुवानी गर्न नसकेको भन्दै बन्दरगाह सञ्चालक हिमालियन टर्मिनल्सले ४० दिनको शुल्क मिनाहा गरेको जनाएको छ ।
टर्मिनल्सले गत असोज ३ गतेदेखि कात्तिक १२ गतेसम्मको गोदाम र कन्टेनरको पार्किङ शुल्क मिनाहा गरेको जनाएको छ । मधेस आन्दोलनका कारण बन्दरगाहबाट ढुवानी हुन नसकेपछि त्यो अवधिको शुल्क मिनाहा गरेको टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले बताउनुभयो ।
भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र सुक्खा बन्दरगाहमा भारतबाट मालबाहक रेलमार्फत आइपुगेका सामान बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि विगत डेढ महिनादेखि बन्दरगाह परिसरमा थन्किएका थिए ।
बन्दरगाह भन्सार कार्यालयका अनुसार एक दिन सुक्खा बन्दरगाह बन्द हुँदा राजस्वबाहेक नेपाललाई रु एक करोडसम्म घाटा पर्छ । सामान्य अवस्थामा सुक्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक करिब रु पाँच करोड राजस्व सङ्कलन गर्दै आएकामा बन्द र हडतालका कारण राजस्व सङ्कलन नगन्य मात्रामा हुने गरेको सुक्खा बन्दरगाहका सूचना अधिकृत हरिहर पौडेलले बताउनुभयो ।
कात्तिक १९ गतेदेखि सुरक्षा घेराभित्र ढुवानी सुरु भए पनि सुख्खा बन्दरगाहमा अझै एक लाख २० हजार टन मालसामान थन्किएका छन् । सुरक्षाकर्मीको सुरक्षामा कात्तिक १९ गतेयता दुई हजार ट्रक मालसामान सुक्खा बन्दरगाहबाट निकासी भएको बन्दरगाहले जनाएको छ ।