काठमाण्डौ, ३० कात्तिक । आर्थिक क्षेत्रका विज्ञहरुले नाकाबन्दीलाई थप छमहिना लम्बिन दिइए नेपालका बैँकहरु धरासायी हुने चिन्ता प्रकट गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकको २९औँ वार्षिकोत्सवका अवसरमा आर्थिक क्षेत्रका विज्ञहरुले भारतको नाकाबन्दी हटाउन कूटनीतिक पहल गर्ने सरकारी कार्य निक्कै ढिलो भइसकेको बताएका छन् ।
नेपालमा हाल राजनीतिक मात्र नभई आर्थिक सङ्कट पनि रहेको स्वीकार्दै उनीहरुले बैंकिङ क्षेत्रमा तरलता बढेको, बैंकिङ क्षेत्रको नीति समयानुकुल परिमार्जन गर्नुपर्ने, राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिको पालना गर्नुपर्ने तथा उसको नीति नियम र निर्देशन राम्रो रहेको धारणा सो बैँकका सेयरधनीले व्यक्त गरेका छन् ।
बैंकको साधारण सभामा विभिन्न प्रस्ताव पारित गर्नुका साथै सेयरधनीलाई ३३ प्रतिशत बोनस वितरण गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । २९ वर्ष लामो सेवा अवधिमा बैंकले आफनो कुल सम्पत्तिमा वृद्धि गरी रु एक खर्ब चार अर्ब ३४ करोड पु¥याएको छ । आव २०७१÷७२ मा सो बैँकले रु तीन अर्ब ११ करोड मुनाफा आर्जन गरेको छ ।
त्यस्तै बैँकको कूल लगानी रु २१ अर्ब ४६ करोड २५ लाख ८७ हजार ७४४ पुगेको छ । निष्क्रिय कर्जाको अनुपात गत वर्षको १.७७ प्रतिशतबाट घटेर १.२५ प्रतिशतमा झरेको छ । कुल ९६९ कर्मचारी रहेको सो बंैकमा ४४ प्रतिशत महिला कर्मचारी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले भारतले नेपाललाई गरेको आर्थिक नाकाबन्दीले नेपालको बैंकिङ क्षेत्रमा नराम्रो प्रभाव परेको भन्दै यसलाई लामो समयसम्म लम्बिन नदिन कूटनीतिक कदम चाल्न ढिलो भइसकेको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र कम्पनीका सचिव सुधिरमान श्रेष्ठले बैंकले २९ वर्षको लामो अवधिमा आर्थिक क्षेत्रमा गरेको प्रगति उल्लेखनीय रहेको बताउनुभयो । सो अवसरमा सेयरधनी अमिरदास रञ्जित, ईश्वरमान कर्माचार्य, इन्द्रकृष्ण श्रेष्ठ, रामगोपाल महर्जन, डम्बरुबल्लभ घिमिरे, चन्द्रमान श्रेष्ठलगायतका वक्ताले बैंकले गरेको प्रगतिबाट सेयरधनीले सन्तोष व्यक्त गरेको चर्चा गर्दै ३३ प्रतिशत बोनस वितरण गर्ने बैंकको निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।